अर्थ-वाणिज्य

कैलालीका उखुखेतीको क्षेत्रफल घट्दै



गोदावरी (कैलाली), १५ असोजः

पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ । उखुखेतीको प्रवद्र्धन र उत्पादन क्षेत्रफल बढाउन उखुखेतीमा संलग्न किसानलाई बीउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उक्त खेतीको क्षेत्रफल घट्दै गएको हो । उत्पादित उखुको बजार पनि अभाव भएका कारण किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसानको गुनासो छ ।

विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानले उखुखेतीको विकल्पमा विस्तारै अन्य खेती गर्न थालेका छन् । ज्ञान केन्द्रका अनुसार जिल्लामा २०÷२२ वर्षअघि ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर २३६ हेक्टरमा पुगेको छ ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जिल्लामा आव २०८०÷८१ मा जिल्लामा २३७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिएकामा पाँच हजार ७८० मेट्रिकटन, आव २०८१÷८२ मा २३७ हेक्टरमा उखुखेती गरिएकामा उत्पादन पाँच हजार ७८० मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो ।

उखुखेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बीउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्न सक्ने सूचना अधिकारी ओझाको भनाइ छ । तीन तहका सरकारले उखुखेती प्रवद्र्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औजार, उन्नत जातका बीउ र लगाउने विधिका बारेमा ज्ञान तथा सीप उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । 

उखुखेतीमा बजारको अभाव भएकाले किसानले लागतअनुसार आम्दानी  लिन नसक्नुका कारणले पनि किसानको सङ्ख्या घट्दै गएको ज्ञान केन्द्रले जनाएको छ । विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको सङ्ख्या बढेको थियो । सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छाड्नुपर्ने अवस्था आएको हो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशभर छ हजार १९७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएकामा तीन लाख ५९ हजार ३२१ मेट्रिकटन उत्पादन भएको छ ।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार ६२५ हेक्टरमा खेती गरिँदै आएकामा तीन लाख ४३ हजार १२५ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कञ्चनपुर र कैलालीपछि बैतडीमा २६० हेक्टरमा चार हजार १९० मेट्रिक टन उत्पादन भएको जनाइएको छ । 

प्रकाशित : १५ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६