अन्तर्राष्ट्रिय

विज्ञान–प्रविधिमा विदेशी प्रतिभा आकर्षित गर्न चीनद्वारा ‘के भिसा’ कार्यक्रम लागू



बेइजिङ, १५ असोज (रासस/एएफपी)

चीनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्ने उद्देश्यसहित बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ । यो कदमलाई चीनले आफूलाई संयुक्त राज्य अमेरिकाभन्दा अगाडि विश्व नेताका रूपमा स्थापित गर्ने रणनीतिक प्रयासको हिस्सा भएको जनाएको छ । यो उपाय यही अगस्टमा घोषणा गरिएको थियो । हालै अमेरिकाले आफ्ना कुशल कामदार भिसामा आकस्मिक रूपमा नयाँ र महँगो परिवर्तनहरू गरेको सन्दर्भमा चीनको यो नीति विपरीत धारका रूपमा आएको हो । चिनियाँ राज्य सञ्चारमाध्यमहरूका अनुसार नयाँ भिसाले आप्रवासन प्रक्रियालाई निकै सहज बनाउनेछ । पिपुल्स डेली ले लेखेको छ, “केही देशले अन्तर्राष्ट्रिय प्रतिभालाई बेवास्ता गरिरहेको अवस्थामा चीनले यस अवसरलाई समयमै उपयोग गर्दै तत्कालै यो नीति अघि सारेको छ ।” अन्य भिसा श्रेणीहरूको विपरीत ‘के भिसा’ प्राप्त गर्न आवेदकले अनिवार्य रूपमा घरेलु रोजगारदाता वा संस्थाबाट निमन्त्रणा लिनुपर्ने छैन । साथै, यस भिसाले धारकलाई प्राप्त हुने प्रविष्टिको सङ्ख्या, वैधता अवधि र बसाइ अवधि सम्बन्धी थप सुविधा प्रदान गर्ने सिन्ह्वा समाचार एजेन्सीले जानकारी दिएको छ । यस भिसाको लक्ष्य समूह ‘युवा विदेशी वैज्ञानिक र प्राविधिक प्रतिभा’ भएको जनाइए पनि आवश्यक उमेर, शैक्षिक योग्यता र कार्य अनुभवबारे विस्तृत मापदण्ड अझै स्पष्ट गरिएको छैन । भिसा धारकहरूले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, उद्यमशीलता र व्यवसायिक गतिविधिहरूमा संलग्न हुन पाउने व्यवस्था हुने सिन्ह्वाले जनाएको छ । उता, अमेरिकामा ट्रम्प प्रशासनले एच–१बी भिसामा अप्रत्याशित परिवर्तन गर्दा प्रविधि उद्योगमा असन्तोष बढेको छ । यस भिसाले अमेरिकी कम्पनीलाई वैज्ञानिक, इन्जिनियर र कम्प्युटर प्रोग्रामर जस्ता विशेष सीप भएका विदेशी कामदारलाई तीन वर्षसम्म प्रायोजन गर्ने अनुमति दिन्थ्यो । तर नयाँ नीतिअनुसार अब यसका लागि करिब एक लाख डलर बराबरको शुल्क तिर्नुपर्ने छ । प्रत्येक वर्ष लटरी प्रणालीमार्फत वितरण हुने यी भिसामध्ये करिब तीन चौथाई हिस्सा भारतीय नागरिकहरूले पाउने गरेका छन् । यसबीच, पिपुल्स डेली ले मङ्गलबार प्रकाशित आफ्नो लेखमार्फत चीनमा नयाँ भिसाले ‘आप्रवासन समस्या सिर्जना गर्ने’ भनी फैलिएका अफवाहलाई अस्वीकार गरेको छ । “तथाकथित आप्रवासन सङ्कट साकार हुने छैन, हामीसँग सांस्कृतिक आत्मविश्वास छ”, पत्रिकाले उल्लेख गरेको छ ।

प्रकाशित : १५ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६