अर्थ-वाणिज्य

महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री



मध्यविन्दु (नवलपरासी ब सु पू), १५ असोज

यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ । यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो ।

गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिनुभयो । “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ”, उहाँले भन्नुभयो,“प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।”

संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भन्नुभयो,“यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।”

गाउँमा उत्पादित खसीबोका बजारसम्म पु¥याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वषृदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । “सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ”, उहाँले भन्नुभयो ।

यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन् ।

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ ।यहाँका बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्लेभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित : १५ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६