पेरिस, १६ असोज (रासस/एएफपी) :
पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुग्नुभएको छ । उहाँ फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुनुहुन्छ । उहाँ सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइनहरू चिच्याउँदै हिँडनुहुन्छ । ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ !’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे !’ जस्ता रमाइला हेडलाइनसहित उहाँ भीड आकर्षित गर्नुहुन्छ । लेफ्ट बैंकका बुद्धिजीवीदेखि पर्यटकसम्म सबै उहाँको उपस्थिति देखेर मुस्कुराउँछन् । २० वर्षदेखि उहाँलाई चिन्ने एक वेट्रेस अमिना किसी भन्नुहुन्छ, “यदि अली देखिनुभएन भने पर्यटकहरूले उहाँ कहाँ हुनुहुन्छ भनेर सोध्छन् ।” – कठिन जीवन र साहस – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अली अकबरलाई ‘फ्रान्सप्रति समर्पित सेवाको’ मान्यतामा चाँडै राष्ट्रिय योग्यताको क्रममा नाइट उपाधि दिने घोषणा गर्नुभएको छ । अकबर आफैँलाई यो अप्रत्याशित लागेपनि ‘मलाई लाग्छ यो मेरो साहस र कडा मेहनतको कदर हो’ भनी प्रतिक्रिया दिनुभएको छ । गोल चश्मा, नीलो ज्याकेट र ग्याभ्रोचे टोपीसहित परिचित देखिने अकबर मुख्यतया ले मोन्डको प्रतिलिपि बेच्ने गर्नुहुन्छ । २० वर्षको उमेरमा पाकिस्तानबाट गरिबीबाट बच्न फ्रान्स आउनुभएका उहाँले सुरुमा रेस्टुरेन्टमा नाविक र भाँडा माझ्ने काम गर्नुभयो । पछि हास्यकार जर्ज बर्नियर (प्रोफेसर चोरोन) सँग भेट भएपछि उहाँलाई हारा–किरी र चार्ली हेब्डो बेच्ने अवसर मिल्यो । जीवनमा धेरै कठिनाइ भोग्नुभएका अकबर केही समय घरबारविहीन पनि बन्नुभयो । आक्रमणको सामना गर्नुपरे पनि उहाँले कहिल्यै हार मान्नुभएन । उहाँका कान्छा छोरा शाहाब भन्नुहुन्छ, “म बुबाप्रति गर्व गर्छु, उहाँ हाम्रो परिवारका लागि मात्र नभई पेरिसकै लागि प्रेरणा हो ।” – हेडलाइनमार्फत हास्य – सन् १९७० दशकमा उहाँले सेन नदीको लेफ्ट बैंकमा समाचारपत्र बिक्री गर्न थाल्नुभयो । प्रतिष्ठित साइन्सेज पो विश्वविद्यालय अगाडि उहाँले पूर्वप्रधानमन्त्री एडवर्ड फिलिप लगायतका विद्यार्थीहरूसँग भेटघाट गर्दै फ्रान्सेली भाषा सिक्नुभयो । सन् १९८० को दशकबाट उहाँले मानिसलाई हसाउन उदार हेडलाइन सिर्जना गर्न थाल्नुभयो । “म मानिसलाई खुसी बनाउन चाहन्छु, त्यसैले रमाइला समाचार बनाउँछु”, उहाँ भन्नुहुन्छ । तर आजकल राम्रो जोक ल्याउन कठिन भएको उहाँ स्वीकार गर्नुहुन्छ । “सबै कुरा यति गडबडी छ”, उहाँले हाँस्दै भन्नुभयो । – निरन्तरता र प्रेरणा – एक महिनामा एक हजार युरो पेन्सन पाउने अकबर अझै पनि हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सडकमा निस्किनुहुन्छ । सुरुमा उहाँ दैनिक १५०–२०० प्रतिलिपि बेच्नुहुन्थ्यो । अहिले औसतमा ३० प्रतिलिपि मात्र बेचिन्छ । “जबसम्म ऊर्जा छ, म काम गर्दै जानेछु—म मरेसम्म पनि”, उहाँले ठट्यौली गर्दै भन्नुभयो । एक क्याफेमा नियमित ग्राहक ३६ वर्षीया अमेल घाली भन्नुहुन्छ, “अली साँच्चै प्रेरणादायी हुनुहुन्छ । डिजिटल युगमा पनि उहाँजस्ता व्यक्तिलाई देख्न पाउनु सौभाग्य हो । दुर्भाग्यवश, हाम्रा बच्चाहरूले कफीसँगै समाचारपत्र पढ्ने आनन्द अनुभव गर्न पाउँदैनन् ।” अली अकबर आज केवल पेरिसका अन्तिम समाचारपत्र हकर मात्र हुनुहुन्न, बरु कठिनाइलाई साहस, हास्य र सकारात्मक ऊर्जा मार्फत जित्ने जीवित प्रतीक बन्नुभएको छ ।








प्रतिक्रिया