खोज–अनुसन्धान

खाँ पिहाँवइगु जात्रा सम्पन्न



भक्तपुर, १७ असोज

दसैँको एघारौँ दिन आज पापाङकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको हो ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरी तत्कालीन युद्धकला प्रदर्शन गरेका छन् । लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)का रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)का रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता तथा दरबारको राजदण्डसमेत लिएर नगर परिक्रमा गराइएको छ । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछन् । 

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भूइँफर्सी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिन्डो लिनेको भीड लाग्ने गर्दछ ।   

जात्राको अन्तिममा भूइँफर्सी मार हान्ने भएकाले यसलाई भूइँफर्सी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीय अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । जात्रा अवलोकनका लागि स्थानीयदेखि विभिन्न ठाउँबाट आएकाहरूको ठूलो भीड लागेको थियो ।

प्रकाशित : १७ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६