खोज–अनुसन्धान

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो



बरहथवा (सर्लाही), १९ असोज

सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् । जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो । रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ । यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामलगायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ । त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६