अर्थ-वाणिज्य

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घरहरू निर्माण गरिदिने



विराटनगर, २२ असोज

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ ।

त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्नुहुनेछ । झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठकमा निर्देशन दिनुभएको थियो । विपद्मा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

प्रकाशित : २२ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६