काठमाडौँ, २२ असोज
कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले मुलुकमा कृषि क्षेत्रको विकासमार्फत समग्र देशको विकास तथा जनताको आर्थिक प्रगति हासिल गर्न सकिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि उत्पादनमा वृद्धि गर्न यस क्षेत्रमा आधुनिकीकरणको खाँचो औँल्याउँदै त्यसले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री परियारले मुलुकमा उत्पादन बढाएर कृषिजन्य वस्तुमा परनिर्भर कम गर्न कृषि र पशुपालनलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उखु किसानलाई प्रोत्साहनस्वरुप उपलब्ध गराइँदै आएको रकम प्रतिक्विन्टल रु ७५ दिने भनेर सरकारले निर्णय गरे पनि रु ७० मात्रै दिने गरेको पाइएको बताउँदै उहाँले पछिल्लो पटक रु ३५ मात्र भुक्तानी गरेकामा किसानको गुनासो रहेको उल्लेख गर्नुभयो ।
मन्त्री परियारले दुग्ध विकास संस्थानले किसानलाई रु ५३ करोड बुझाउन बाँकी रहेको जानकारी दिनुभयो । किसानले बिक्री गरेका आफ्ना उत्पादनको भुक्तानी नपाउँदा समस्यामा परेकाले यसले उत्पादनमा कमी आउने र समग्र उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने उहाँको भनाइ थियो । त्यसैले अविलम्ब बक्यौता फर्छ्यौट गर्न सम्बन्धित पक्षलाई मन्त्री परियारले आग्रह गर्नुभयो ।








प्रतिक्रिया