गण्डकी, २३ असोज
कास्की जिल्लास्थित विभिन्न ११ वटा रोटरी क्लबले हिंसारहित शान्तिपूर्ण समाज कायम हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुुझाएका छन् । हालै भएको ‘जेनजी’ प्रदर्शन र त्यसयता भएका विभिन्न गतिविधिका कारण सिङ्गो समाज नै प्रभावित बनेको भन्दै रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष कमला गिरीको संयोजकत्वमा गएको टोलीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शान्ति, सुव्यवस्था कायम गर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।
आन्दोलनका क्रममा प्रस्तुत गरिएका माग, त्यसको प्रभाव र त्यसपछिको सामाजिक तथा राजनीतिक अवस्थाले एकापसमा अविश्वास, असहिष्णुता, तनाव र हिंसा आदिका घटना एकपछि अर्को गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।
शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको आधारभूत पक्ष भए पनि त्यसबाट सिर्जना हुने जुनसुकै किसिमका परिस्थितिलाई सम्हाल्दै समस्याको दीर्घकालीन समाधान गर्ने जिम्मेवारी प्रशासन, नागरिक समाजसहित सबैको कर्तव्यसमेत भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“यस्ता जुनसुकै समस्याको समाधान हिंसा, प्रतिशोध वा विभेदजन्य व्यवहार नभई संवाद, मेलमिलाप र सहकार्य हो भन्नेमा आफूहरू दृढ छौँ । त्यसैले शान्तिपूर्ण संवादका माध्यमबाट समाधान खोज्नेमा सम्बद्ध सबै पक्ष लाग्नुु अपरिहार्य छ”, ज्ञापनपत्रमा भनिएको छ,“आन्दोलनपश्चात् यसले पारेको मनोवैज्ञानिक त्रासलाई हटाउँदै शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि सबैको एकताबद्ध प्रयास अपरिहार्य छ । यस सन्दर्भमा कुनै पनि हिंसात्मक एवम् द्वन्द्वात्मक गतिविधिको अन्त्यका लागि कुनै पनि पक्षबाट हुने हिंसात्मक क्रियाकलापलाई निगरानी गर्दै त्यसको कानुनी उपचारका लागि आग्रह छ ।”
निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन निजी क्षेत्रको माग
यसैगरी यहाँका निजी क्षेत्रका पेसागत सङ्गठनले निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन माग गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित ‘उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तरक्रियामा वक्ताहरूले दण्डहीनताको अन्त्य र दोषीमाथि कारबाही एवम् घोषित चुनावको सुनिश्चिताको माग गरेका हुन् ।
वक्ताहरूले व्यावसायिक वातावरण निर्माण र सुरक्षासँगै निषेधको राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशलाई सही दिशा दिन एकजुट हुँदै राजनीतिक दलहरूलाई दबाब दिनुपर्ने धारणा राख्नुुभयो । ‘जेनजी’ प्रदर्शन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको महसुस हुन थालेको भन्दै उहाँले यसले देशमा कठिन दिन आउनसक्ने चिन्ता व्यक्त गर्नुुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले प्रदर्शनका क्रममा व्यवसाय गरेर धन आर्जन गरेकाहरूलाई सुनियोजित रूपले दोषी करार गर्ने काम भएको बताउनुुभयो । उहाँले धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरू सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो ।
आन्दोलनका क्रममा जलाइएको होटल सरोवरका सञ्चालक प्रतीकराज पहारीले भवन जल्नुको पीडाभन्दा व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा बढी डर भएको धारणा राख्नुुभयो । आफ्नो परिवारले ऋण गरेर बनाएको होटलमा सुनियोजित तवरले आगजनी र लुटपाट गरिएको भन्दै उहाँले अपराधीमाथि कारबाही हुनुपर्ने माग गर्नुुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रदर्शनका नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उल्लेख गर्नुुभयो । पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल,होटल सङ्घ नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, कास्की जिल्ला हस्तकला सङ्घकी अध्यक्ष सीता गुरुङलगायतले धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया