अर्थ-वाणिज्य

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी



घोराही (दाङ), २६ असोज

घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गर्नुभएकी उहाँका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उहाँको अहिले दैनिकी बनेको छ । उहाँ घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउनुहुन्छ । “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उहाँले भन्नुभयो । 

आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक रु ६÷७ हजार आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई रु पाँच सयमा बिक्री गर्नुहुन्छ । बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उहाँको भनाइ छ । दुना भने एक सय वटालाई रु एक सय २० मा बिक्री गरिरहनुभएको छ । 

वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिनुहुन्छ । “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भन्नुभयो । उहाँले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताउनुभयो । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उहाँको बुझाइ छ । 

अचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्र्दै आउनुभएको छ । ५१ वर्षिया शान्ति र ५७ वर्षिय खुशीरामले विसं २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आउनुभएको हो । घरको काम सकेर बचेको समय यो व्यवसायमा उहाँहरुको दैनिकी वित्ने गरेको छ ।  

यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताउनुभयो । चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक रु १५ हजार कमाइरहेको उहाँको भनाइ छ । 

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ । 

प्रकाशित : २६ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६