खोज–अनुसन्धान

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक



बागमती, २७ असोज

बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेश सभाहल र प्रदेशसभा सचिवालय भवन ध्वस्त भएपछि तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

“अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ”, सचिव पौडेलले भन्नुभयो, “सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ ।” सम्भवत छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उहाँको भनाइ छ । 

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङ्गरोगन गरिरहेको छ । बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताउनुभयो । 

आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरहरूबाट काम सुरु गरिएको उहाँको कथन छ । 

असोजको अन्तिमतिर प्रदेशसभा बस्ने तयारी 

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही असोजको अन्तिमतिर बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार दिपावली, तिहारभन्दा अघि नै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको केन्द्रीय तहमा बैठकहरू भइरहेकाले बैठकको मिति तय हुन नसकेको उहाँले बताउनुभयो । 

प्रदेश सरकार र प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहनु भएको र उहाँसँगको परामर्शपश्चात प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलको भनाइ छ ।  

सभामुखमा सत्तारुढ र प्रतिपक्षको दाबी 

बागमती प्रदेशसभाको सभामुख पदमा सत्तापक्ष र प्रतिपक्षले दाबी प्रस्तुत गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको थियो । 

असोज १ गते उपसभामुख अपसारा चापागाईंलाई राजीनामापत्र बुझाउनुभएको थियो । यद्यपी उहाँको राजीनामा स्वीकृत भइसकेको छैन । अब बस्ने प्रदेशसभाको बैठकले सभामुख पाठकको राजीनामा स्वीकृत गर्दै नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो । 

सभामुख चयनको प्रक्रिया सुरु हुने भएपछि सभामुखमा सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्ष दल नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । 

केही दिनअघि बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । अर्काे सत्तारुढ दल एमालेले सभामुखमा दाबी गर्ने बताएको छ । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने तर्क एमालेका नेताहरूको छ ।  

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले रिक्त रहेको बागमती प्रदेशसभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार अहिले रिक्त रहेको सभामुख पदमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गर्ने र त्यसका लागि प्रदेशसभाका प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ । 

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६