ब्रेकिंग न्युज

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित



काभ्रेपलाञ्चोक, ३० असोजः बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ । चौध वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ ।
सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२÷८३ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो । अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार २०६८ सालमा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई सङ्घीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
नगरले यही असोज २७ गते अस्पताललाई पत्र लेख्दै आउँदो कात्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न पत्राचार गरेको थियो । उक्त कार्यक्रममार्फत सुत्केरी हुने महिलाका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, बिरामीको तर्फबाट २० प्रतिशत र सङ्घीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार सुत्केरी हुँदाका बेला उपचारमा भएको खर्चमा सङ्घीय सरकारले अस्पतालका लागि शल्यक्रिया गर्नुपरेमा रु १० हजार र सामान्य अवस्थामा रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको थियो । यस्तै बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्न रु २५ हजारदेखि रु २९ हजार तथा सामान्य अवस्थामा रु तीन हजार ६०० देखि रु चार हजारसम्म खर्च हुँदै आएको थियो ।

अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित गरे पनि ल्याब टेस्ट, युएसजी र एक्सरेबाहेकका सेवामा दिइरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेका लागि मात्र) र औषधिमा पाँच प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएको अस्पतालका स्वास्थ्य निर्देशक डा एन्जिला बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार रकम तिर्न नसक्ने सुत्केरी हुँदा र भएपछि घर फर्कने खर्च भने अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराइने छ । अस्पतालका अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको गत आवमा मात्रै रु एक करोड ४० लाख च्यारिटीबाट उपलब्ध गराइएको थियो ।

चौध वर्षको अवधिमा उक्त कार्यक्रममार्फत २८ हजार महिलालाई सुत्केरी सेवा प्रदान गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । विसं २०१६ मा स्थापित अस्पतालले सुत्केरीको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६