कपिलवस्तु, आश्विन ३१ गते।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रतीक कपिल आरोग्य मन्दिर कपिलधामले आफ्नो चौधौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। सभामा संस्थाको विगत वर्षभरिको कार्यप्रगति, आर्थिक प्रतिवेदन तथा आगामी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष शंकरप्रसाद आचार्यले संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कपिलधाम क्षेत्रको धार्मिक, सांस्कृतिक र स्वास्थ्य पर्यटनको विकासमा संस्थाको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले समाजसेवा, आरोग्य उपचार तथा आध्यात्मिक विकासका क्षेत्रमा संस्थाले निरन्तर अग्रसर भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो।

त्यस्तै संस्थाका कोषाध्यक्ष राजु अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा संयोजक कमल बेल्बासेले लेखा समितिको प्रतिवेदनसहित सुझावहरू सभामा पेस गर्नुभएको थियो। सभामा संस्थाको वार्षिक आय–व्यय विवरण, पारदर्शिता र आगामी वर्षका प्राथमिकताहरूमा केन्द्रित छलफल भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्री एक हजार आठ स्वामी विवेकानन्द सरस्वती, विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु प्रसाद पन्थी, सामाजिक तथा साहित्यिक व्यक्तित्व मोहन ज्ञवाली, ऋषि आजाज र आत्मराम आचार्य लगायत वक्ताहरूले आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले संस्थाको क्रियाकलापले कपिलधाम क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व अभिवृद्धि गर्न उल्लेखनीय योगदान दिएको धारणा राख्दै आगामी दिनमा अझ सशक्त र संगठित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
साधारण सभा संस्थाका अध्यक्ष शंकरप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष थानेश्वर बेल्बासेको स्वागत मन्तव्य र सहसचिव दुर्गाप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला, समाजसेवी, साहित्यकार तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वामी विवेकानन्द सरस्वतीलाई सम्मान
साधारण सभाको विशेष क्षणमा संस्थाको स्थापनाकालदेखि नै निरन्तर योगदान पु¥याउँदै आउनु भएका श्री एक हजार आठ स्वामी विवेकानन्द सरस्वतीलाई संस्थाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।

सम्मान कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु प्रसाद पन्थीले स्वामी विवेकानन्द सरस्वतीलाई सम्मान प्रदान गर्नुभयो। उहाँले कपिल आरोग्य मन्दिरले धार्मिक आस्था र सामाजिक सेवाको संयोजन गर्दै समुदायमा स्वास्थ्य र आत्मविकासका मूल्यहरू प्रवद्र्धन गरिरहेको बताउनुभयो।
उहाँले थप गर्नुभयो, “कपिलधामलाई आरोग्य, धर्म र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न संस्थाको पहल सराहनीय छ। प्रदेश सरकार पनि यस्ता ऐतिहासिक तथा सामाजिक महत्त्वका संस्थासँग सहकार्य गर्न सधैं तयार रहनेछ।”








प्रतिक्रिया