देश

एमाले बैठक सदस्यका रोचक र गहन सुझाव



कपिलवस्तु ३१ असोज

ललितपुर स्थित एक पार्टी प्यालेसमा जारी एमाले केन्द्रिय बैठकमा केन्द्रिय सदस्यले अध्यक्ष केपि ओलीलाई लक्षित गरि केहि रोचक ,घोचक र गहन मननिय सुझाव पेश गरेका छन् । यसै क्रममा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरले केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।देश र पार्टी चलाउन असक्षम भएको भन्दै उनले संख्याको बलमा टिक्ने प्रयास नगर्न भनेका हुन् । दुई तिहाईको प्रधानमन्त्री सरकार छाडेर हेलिकोप्टर चढेर भाग्नुपरेको भन्दै मानन्धरले केन्द्रीय कमिटीमा वहुमतको संख्याको बलको अर्थ नहुने उनले बताए । मानन्धरले जेनजी आन्दोलनको बिध्वंशको खबर समेत नहुनु प्रधानमन्त्रीको असफलता भन्दै राजीनामा मागेका हुन् ।
मानन्धरले नयाँ, विश्वासिलो तथा भरपर्दो व्यवहार प्रदर्शन गरी कम्युनिष्ट पार्टीहरुबीच सहकार्य र सुमधुर संबन्ध कायम गर्ने र आगामी निर्वाचन भएमा बृहद वाम लोकतान्त्रिक गठबन्धन गर्ने तयारीकासाथ् पार्टीलाई अघि बढाउनु पर्ने मत राखेका छन् ।
यता नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले जेनजी आन्दोलन र पछिल्लो घटनाक्रम षड्यन्त्र भनेर अरुलाई मात्र दोष दिई सही निचोडमा पुग्न नसकिने बताएकी छन् ।जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे धारणा राख्दै उनले संसद पुनःस्थापनाको एजेन्डा विकल्प नभएको प्रष्ट्याएकी छन् ।उनको भनाइ थियो, ‘२०७७ को प्रतिनिधिसभाको विघटन र अहिलेको विघटनको अवस्था एउटै हुँदैहैन । यो सरकारको निर्वाचन गराउने हैसियत त देखिँदैन तर नेकपा एमाले निर्वाचनको पक्षमा छैन भन्ने सन्देश जानु हुन्न, हामी एक्लैले मात्रै चुनावमा नजाने कुरा गर्नै हुन्न । यो विषयमा कांग्रेससँगको सहकार्य अनिवार्य छ ।’
अन्तरविरोध र प्रधान शत्रु पार्टीभित्रै रहेको जस्तो गरी नेतृत्वले गर्ने गरेको व्यवहारले बाहिरी खतरालाई देख्न नसकेको उनको टिप्पणी छ ।अहिलेको चुनौतीसँग सामना गर्न पार्टीलाई बलियो बनाउन विधानमा दुई कार्यकाल र उमेर उमेर हदलाई पुनव्र्यवस्था गरेर जानुपर्ने, ओलीले अभिभावक भएर बस्नुपर्ने, पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण खुलाउनुपर्ने उनको भनाइ छ ।
यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए । ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुनुपर्छ,’ बैठकमा रावलले भनेका छन् ।उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।
‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौँ,’ रावलको आग्रह थियो, ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन ।’जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ । ‘पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनुपर्छ,’ उनले भने, ‘२२ गते भन्दा अघिको र पछिको शक्तिसन्तुलन र सम्बन्धमा व्यापक फेरबदल भएको छ ।’
नेकपा एमाले केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् ।बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले एमाले बनाउनका लागि बरु आफू छाड्नुपर्ने भए पनि छाड्न तयार रहेको जिकिर गरिन् ।
‘एमाले बनाऔं । पुनर्गठन र रुपान्तरण हुनुपर्छ । म बाहिर बस्न तयार छु, तर पार्टी बचाउनुपर्छ । लोकतन्त्र बचाउनुपर्छ,’ लामाले भनिन् ।साथै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पनि बताइन् ।एमालेको शक्ति देशमा स्थापित भइसकेको उनको भनाइ छ ।‘हामीले आफ्नो अध्यक्ष, आफ्नो प्रधानमन्त्रीलाई सीमित घेरामा राखेका छौं । सही सूचना, निष्कर्ष, विश्लेषण गर्ने क्रममा हाम्रो कमजोरी रह्यो भन्ने कुरा जेनजीको आन्दोलनमा प्रमाणित भएको छ,’ उनले भनिन् ।

प्रकाशित : १ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६