जीवनशैली

देश बिगार्ने तपाई र म



पछिल्लो समय देशको यो अवस्था देख्दा मनमा एक किसिमको गहिरो छटपटी र प्रेमको भावना जाग्छ। मिल्ने भए देशलाई चरप्प अँगालोमा बाँधेर सुरक्षित राखौँ जस्तो लाग्छ। यो भावना मलाई मात्र पक्कै होइन होला ? देशको माटो, संस्कृति र भविष्यप्रतिको यो अगाध माया कति हुन्छ, त्यो त पछिल्लो पटक भाद्र २४ मा देखिएको अभिभावक विहिनताको समयमा उत्पन्न अपार राष्ट्रप्रेमले बताई नै सकेको छ।

हाम्रो पुस्ता साँच्चिकै ऐतिहासिक भएरै रहने भयो। हामीले छोटो समयमै धेरै युगहरूको साक्षी बन्ने र ती युगहरू बाँच्ने अवसर पायौँ। हामीले इन्टरनेट बिनाको जीवनबाट इन्टरनेटको युगमा कदम राख्यौँ । हामीले राजतन्त्र देख्यौँ र भोग्यौँ, अनि गणतन्त्र ल्यायौँ। हामीले संविधान लेख्यौँ, भूकम्पको कहाली बेहोर्‍यौँ, नाकाबन्दीको पीडा सह्यौँ, कोरोनाको कहर बोक्यौ सङ्घीयता जस्तो ठूलो संरचनागत परिवर्तन ल्यायौँ, जेन-जी आन्दोलनहरू हेर्‍यौँ र अहिले कृत्रिम बौद्धिकताको युगमा छौँ।

साँच्चिकै हेर्दा, एक आम नेपाली आफैँमा इतिहास बोकेर हिँडिरहेको छ, बाँचिरहेको छ। यति भाग्यमानी, यति इतिहासका मोडहरू पार गरेको तपाईं  र म त धेरै अगाडि बढ्यौँ , तर विडम्बना देशलाई कसरी पछाडि छोड्यौँ ?

यस प्रश्नको उत्तर खोज्न हामीले आफ्नो औँला अरू कसैतिर नदेखाई सिधै आफैँतिर सोझ्याउनु पर्छ। देशको यो दुर्गतिमा यदि कसैको हात छ भने त्यो टाढाको शक्ति वा अदृश्य पात्रको नभएर हामी स्वयंको हो। देश बिगार्ने तपाई र म नै हौँ। पहिलो व्यक्ति ‘म’ हो, जसले समाजमा आफूलाई सफल देखाउने दौडमा नैतिकता र देशको हितलाई तिलाञ्जली दिए। मैले अकुत सम्पत्ति कमाए, भव्य महल बनाएँ र महँगो गाडी चढेँ। यो सम्पत्तिको श्रोतमाथि प्रश्न उठ्ने डरलाई दबाउन मैले एउटा नयाँ चाल समाजसेवा चलेँ । दुई-चार पैसा सहयोग गरेको नाटक गरे । पत्रकार बोलाएर प्रचार गरे । मैले सस्तो ख्याति कमाए, समाजसेवी कहलाउन  सानोतिनो राष्ट्रघातलाई ओझेलमा पारेँ। ‘म’ ले समाजमा ‘सफलता’ को यस्तो मापदण्ड स्थापित गरिदिए, जहाँ सम्पत्तिको स्रोत गौण हुन्छ, मात्र त्यसको प्रदर्शन महत्त्वपूर्ण हुन्छ। यसरी ‘म’ सफलताको शिखर चढिरहेँ र दोस्रो व्यक्ति ‘तपाईं’ हो। तपाईं मेरो छिमेकी, मेरो नातेदार, मेरो समाजको सदस्य, तपाईंले सधैँ मेरो वाहवाही गर्नुभयो । ‘मलाई’ यस्तो गर्दिनुहोस् भन्दिनुहोस् भन्ने दबाबमा पर्नुभयो, तर कहिल्यै यो सम्पत्ति कसरी आयो? कहाँबाट आयो? भनेर सोध्नुभएन न त तपाईंले इमान्दारीपूर्वक काम गरेर पनि यति छोटो समयमा यसरी पैसा कमाउन सकिन्छ/सकिँदैन भनेर नै सोच्नुभयो। तपाईंको मौनता र मेरो अवैध ‘सफलता’ प्रतिको आकर्षण नै हाम्रो पतनको पहिलो कारण बन्यो। तपाई र म मिलेर सफलताको परिभाषालाई ‘इमान्दारिता’ बाट ‘सम्पत्ति’ मा रूपान्तरण गर्‍यौँ। यसरी तपाई र म धेरै अगाडि बढ्यौँ तर देशलाई पछाडि छोड्यौँ।

‘तपाईं’ ले व्यापार सुरु गर्नुभयो। व्यापारको मुख्य ध्येय इमान्दार सेवाको सट्टा छिटो नाफा कमाउने मात्र भयो। तपाईंले भन्सार छली गरी गोदाम भर्नुभयो, कर छली गरी गोजी भर्नुभयो। यसरी तपाईंको व्यवसाय चम्किँदै गयो, तर देशको ढुकुटी रित्तिँदै गयो। यता, ‘म’ भन्सारमा थिएँ, देशको ढोका रक्षकको जिम्मेवारीमा थिए, तपाईंले अवैध रूपमा सामान ल्याउँदा मैले आफ्नो देशप्रतिको कर्तव्य बिर्सेर तपाईंको भन्सार पास गरिदिएँ। तपाईंले ‘मलाई’ दुई-चार पैसा दिनुभयो। मैले तपाईंलाई ‘असल व्यवसायी’ भनेँ, तपाईंले मलाई ‘सरकारी कर्मचारी’ भन्दै नमस्कार गर्नुभयो। हामी दुवैको हातमा नाफा थियो, तर देशको अर्थतन्त्रमा प्वाल परिरहेको थियो। यसरी तपाई र म धेरै अगाडि बढ्यौँ तर देशलाई पछाडि छोड्यौँ।

त्यस्तै परिवहन जस्तो संवेदनशील क्षेत्रमा समेत हाम्रो गैरजिम्मेवारीले देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठायो। मैले गाडी किनेँ, सार्वजनिक सवारी बनाएँ र यात्रु राखि कुदाएँ। मैले न त कर तिरेँ न बिमा गरेँ। मैले न जाँचपास गराएँ न त सिट क्षमता बमोजिम यात्रु राखेँ। जहाँ म हरेक दिन यात्रुको जीवनसँग खेलिरहेको थिएँ त्यहाँ ‘तपाईं’ यातायात निरीक्षक बन्नुभयो। तपाईंको काम मेरो लापरबाहीलाई रोक्नु थियो तर, मैले जब सयको पत्ती (घुस) देखाएँ, तपाईंले सबै ठिक छ भन्नुभयो। मेरो गैरकानुनी कामलाई तपाईंको सरकारी छापले वैधता दियो। म नाफामा थिएँ, तपाईंको गोजी भरिएको थियो, तर सडक दुर्घटनामा ज्यान गुमाउनेहरूले देशलाई गुमाए। यसरी तपाई र म धेरै अगाडि बढ्यौँ तर देशलाई पछाडि छोड्यौँ।

मानवताको सेवा गर्ने क्षेत्रमा पनि हाम्रो स्वार्थले जरो गाड्यो। ‘तपाईं’ ले धेरै पढ्नुभयो, डाक्टर बन्नुभयो, बिरामी जाँच्नुभयो र रोग निको पार्नुभयो। स्वास्थ्य जस्तो पवित्र पेशामा लाग्नुभएको तपाईंले बिरामीको विश्वास र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्थ्यो तर, मैले फार्मेसी खोलेँ। मैले तपाईंलाई मेरो पसलबाट मात्र ओखती लेखिदिनुहोस् भनेँ। तपाईंले ‘कमिसन’ को प्रलोभनमा परेर आफ्नो ज्ञान र बिरामीको हित बिर्सनुभयो। हामी दुवैले मिलेर औषधिको कमिसनबाट ‘महिनावारी भए जसरी’ पैसाको ओइरो बगाइरह्यौँ। हामी दुवैको बैंक खाता मोटाउँदै गयो, तर स्वास्थ्य सेवा महँगिँदै र गुणस्तरहीन बन्दै गयो। यसरी तपाई र म धेरै अगाडि बढ्यौँ तर देशलाई पछाडि छोड्यौँ।

‘म’ सत्तामा थिएँ वा कुनै राजनीतिक दलको पहुँचवाला कार्यकर्ता थिएँ । मेरो योग्यता, अनुभव र इमान्दारिताको आधारमा होइन, केवल मेरो राजनीतिक निष्ठा को आधारमा मैले विश्वविद्यालयको उपकुलपति, क्याम्पस प्रमुख, वा शिक्षा कार्यालयको प्रमुख पदमा नियुक्ति पाएँ। यो पदको मुख्य जिम्मेवारी गुणस्तर बढाउनु थियो, तर मेरो प्राथमिकता दलको हित र व्यक्तिगत लाभमा केन्द्रित भयो । मेरो नियुक्ति प्रक्रियामा योग्यताको कदर भएन, जसले गर्दा योग्य र इमान्दार व्यक्तिहरू पाखा लागे। मेरो अयोग्यता वा राजनीतिक स्वार्थका कारण मैले शिक्षा क्षेत्रमा सही निर्णय लिन सकिनँ। यसले समग्र शिक्षा प्रणालीलाई अस्तव्यस्त बनायो। देशको शैक्षिक भविष्यको जग खलबलियो यता, ‘तपाईं’ एक शिक्षक वा शिक्षासँग सम्बन्धित व्यक्ति बन्नुभयो। ‘तपाईं’ ले निजी ट्युसन र कोचिङ क्लासबाट अतिरिक्त पैसा कमाउने मोहमा परेर विद्यालयको समयमा पढाउन छोड्नुभयो। विद्यालयमा राम्ररी नपढाउने र अभिभावकलाई आफ्नै ट्युसन सेन्टरमा बच्चा पठाउन बाध्य पार्ने काम गर्नुभयो। कक्षाकोठामा विद्यार्थीलाई सिकाउनुपर्ने ज्ञानलाई पैसा कमाउने वस्तु बनाइयो। ‘म’ (प्रशासक) ले यो बेथितिलाई आँखा चिम्लिरहें किनभने ‘म’ पनि दलगत स्वार्थको जालोमा फसेको थिएँ र तपाईंलाई रिझाउनुपर्ने थियो मेरो राजनीतिक पहुँच र तपाईंको व्यक्तिगत लोभका कारण शैक्षिक योग्यता ज्ञानको सट्टा कागजको टुक्रा मा सीमित भयो। हामी दुवैले मिलेर देशको भावी पुस्ताको बौद्धिक र नैतिक धरातललाई ध्वस्त पारिदियौँ। यसरी हामी दुवै धेरै अगाडि बढ्यौँ तर देशलाई पछाडि छोड्यौँ।

‘म’ एक मिडिया सञ्चालक वा सम्पादक थिएँ। मेरो मिडिया हाउसको मुख्य आयस्रोत विज्ञापन हो, र त्यो विज्ञापन वा आर्थिक सहयोग प्रायः ठूला राजनीतिक दलहरू वा पहुँचवाला व्यापारीबाट आउँथ्यो। मेरो इमान्दारिता र व्यावसायिक धर्मलाई तिलाञ्जली दिएर मैले समाचारलाई राजनीतिकरण गरें। मैले दलका नेताहरूको गलत कामलाई छोपिदिएँ र उनीहरूका पक्षमा मात्र समाचार सम्प्रेषण गरें। मेरो सम्पादकीय नीति ‘सत्य’ होइन, ‘सत्ता’ केन्द्रित भयो। मैले सत्ताको नजिक हुनेहरूलाई उत्कृष्ट देखाउन समाचारको प्रस्तुतिलाई हेरफेर गरें, र सत्ताको विपक्षमा हुनेहरूलाई तुच्छ वा भ्रष्टाचारी देखाउन मिडियाको शक्ति दुरुपयोग गरें  यता, ‘तपाईं’ एक पत्रकारको भूमिकामा हुनुहुन्थ्यो। तपाईंलाई थाहा थियो कि ‘म’ ले सत्यलाई बेचेको छु। तर, तपाईंले कि त आफ्नो जागिर जोगाउन मौन समर्थन गर्नुभयो, कि त सस्तो ख्याति र तात्कालिक फाइदाका लागि मेरो गलत समाचारमाथि थप तेल थप्नुभयो  र, ‘तपाईं’ आम नागरिकको भूमिकामा हुँदा पनि यही दूषित समाचारलाई सत्य मानेर उपभोग गर्नुभयो। तपाईंले समाचारको स्रोतमाथि प्रश्न उठाउनुको सट्टा ‘म’ ले देखाएको म्यानिपुलेटेड सत्य लाई नै स्वीकार गर्नुभयो। तपाई र म दुवैले मिलेर देशमा ‘सत्यको हाटबजार’ लगायौँ, जहाँ जसको पैसा र पहुँच छ, त्यसैको सत्य बिक्छ। यसरी तपाई र म धेरै अगाडि बढ्यौँ तर देशको चेतनालाई पछाडि छोड्यौँ।

हाम्रो पतनको अर्को महत्त्वपूर्ण कारण भनेको सुधारको मानसिकता को अभाव हो। हामीले सधैँ समस्याको जड अरूलाई देख्यौँ। हामीले यो बिर्सियौँ कि ‘देश’ भनेको ‘मेरो घर’ को वृहत् रूप मात्र हो। हामीले आफ्नो घर, आफ्नो परिवार र आफ्नो व्यक्तिगत जीवनमा इमान्दारिता, अनुशासन र स्वच्छता कायम राख्न खोज्छौँ। ‘म’ ले मेरो घरलाई चकाचक राख्छु, तर घरको फोहोरको थैलो लगेर सार्वजनिक चोकमा वा छिमेकीको आँगनमा फाल्छु ‘तपाईं’ पनि यही गर्नुहुन्छ। तपाईं निजी विद्यालय वा अस्पतालमा महँगो शुल्क तिरेर गुणस्तरीय सेवा लिनुहुन्छ, तर सरकारी विद्यालय वा अस्पताललाई सुधार गर्नका लागि कहिल्यै आवाज उठाउनुहुन्न। सार्वजनिक सम्पत्तिलाई आफ्नो नठान्ने, सडकमा हिँड्दा वा सार्वजनिक यातायात प्रयोग गर्दा नियम तोड्ने मानसिकता नै हाम्रो राष्ट्रिय चरित्र बन्यो।

हामीले ‘मेरो’ र ‘हाम्रो’ बीचको भिन्नता बुझ्न सकेनौँ। हामीले सोच्यौँ कि यदि मैले कर छलेँ भने देशको ढुकुटीमा कम पैसा हुन्छ, तर त्यो ‘अरू’ को समस्या हो। जबसम्म म सुरक्षित छु, तबसम्म देशको अवस्था जस्तो भए पनि फरक पर्दैन भन्ने कुरामा ‘म’ र ‘तपाईं’ दुवै सहमत भयौँ। हाम्रो समाजमा एउटा मानसिकता गहिरोसँग जरो गाडेको छ: सुधारको सुरुवात आफूबाट होइन, अरूबाट हुनुपर्छ। जब बाटोमा खाल्डो देखिन्छ, ‘म’ सरकारलाई गाली गर्छु। तर, जब ट्राफिक नियम तोड्न मलाई मौका मिल्छ, ‘म’ त्यसलाई सहजै पालना गर्छु। जब शिक्षामा राजनीतिक नियुक्तिको विरोध हुन्छ, ‘तपाईं’ अरू कसैले आन्दोलन गरोस् भनी पर्खिनुहुन्छ। हामी एकअर्कालाई दोष दिन्छौँ नेता भ्रष्ट छन्, कर्मचारी कामचोर छन्, व्यवसायी बेइमान छन् तर हामी स्वयंले आफ्नो भूमिकामा इमान्दारिता देखाउँदैनौँ। वास्तवमा, देश बिगार्ने तपाईं र म नै हौँ, किनभने हामीले व्यक्तिगत स्वार्थलाई राष्ट्रिय हितभन्दा माथि राख्यौँ र सुधारको जिम्मेवारीलाई अरूको काँधमा पन्छायौँ। हाम्रो ‘अगाडि बढ्ने’ दौडमा पछाडि छुट्ने देशको तस्वीर कस्तो छ? यो नैतिक पतन, संस्थागत शिथिलता, र सामाजिक अन्यायले भरिएको छ। हामीले यो बुझ्न सकेनौँ कि देश भनेको कुनै अमूर्त भूगोल मात्र होइन। देश भनेको ती सबै संस्थाहरूको योग हो, जुन हामीले दैनिक रूपमा प्रयोग गर्छौं र जसको हितमा हामीले काम गर्नुपर्छ। जब हामीले आफ्नो व्यक्तिगत गोजी भर्नका लागि ती संस्थाहरूलाई दुरुपयोग गर्छौं, तब देश पछाडि पर्छ। देश बिगार्ने तपाईं र म नै हौँ भने, देश बनाउने शक्ति पनि हामी दुईमै निहित छ। अब हामीले ‘म’ र ‘तपाईं’ को व्यक्तिगत स्वार्थको भूमिका छोडेर ‘हामी’ को सामूहिक जिम्मेवारीमा प्रवेश गर्नुपर्छ। हामीले इतिहास देख्यौँ, भोग्यौँ, परिवर्तन ल्यायौँ। अबको पुस्तालाई हामीले समृद्धिको युग हस्तान्तरण गर्नुपर्छ। त्यो समृद्धिको जग इमान्दारिता, नैतिकता र जिम्मेवारीमा मात्र अडिएको हुन्छ। देश बनाउने कसैको पर्खाइमा नबसौँ। यो बुझौँ कि देश बिगार्ने तपाई र म नै हौँ र देश बनाउने पनि तपाई र म नै हौँ, मात्र हाम्रो नियत र नियन्त्रणको सुरुवात बदल्नुपर्छ। अबको क्रान्ति नैतिक क्रान्ति हो।

प्रकाशित : २ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६