जीवनशैली

एमालेको चियापान कार्यक्रममा उत्साहजनक सहभागिता एमाले नेतृत्वप्रति जनविश्वास र संगठन सुदृढीकरणमा जोड



कपिलवस्तु, असोज ३

नेकपा (एमाले) शिवराज नगर कमिटीले आइतबार आयोजना गरेको चाडपर्व तथा चियापान कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरू, जनप्रतिनिधि, कार्यकर्ता र सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले एमाले र देशमाथि भइरहेको राजनीतिक आक्रमण विदेशी स्वार्थसँग प्रत्यक्षरूपमा जोडिएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “एमाले विध्वंस होइन, विकास, स्थायित्व र जनविश्वासको पक्षमा उभिएको पार्टी हो। जनताको भरोसा जित्न काम र व्यवहार नै हाम्रो मूल मन्त्र हो।”


इन्चार्ज न्यौपानेले संसद पुनःस्थापनाको पक्षमा एमालेले निरन्तर अग्रसरता लिएको स्मरण गराउँदै लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाभिमानका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको बताउनुभयो। उहाँको भनाइमा, आजको राजनीतिक अस्थिरताको मूल कारण सत्ता मोह र विदेशी स्वार्थप्रति झुकाव हो, जसको विरोधमा एमाले सधैं दृढ रहँदै आएको छ।
‘एमालेमाथिको आक्रमण विदेशी स्वार्थसँग सम्बन्धित’
कार्यक्रममा एमालेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बलराम अधिकारीले हाल एमालेलाई कमजोर पार्ने प्रयास विदेशी शक्तिलाई सन्तुष्ट पार्ने उद्देश्यले गरिएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “जेन्जीको नाममा केही दलाल र देशद्रोहीहरू विदेशी शक्तिसँग मिलेर देशलाई अस्थिर बनाउने प्रयासमा छन्। तर देशभक्त जनताले यस्तो प्रयास कहिल्यै सफल हुन दिने छैनन्।”


अधिकारीले एमालेले सदैव राष्ट्रिय स्वार्थ, जनहित र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै अहिले भइरहेको आन्दोलन पार्टीको अस्तित्वमाथि होइन, राष्ट्रको स्वाभिमानमाथि भएको प्रहार भएको बताउनुभयो।
‘कठिन परिस्थितिमा पनि एमाले विचलित हुँदैन’
लुम्बिनी प्रदेशसभा सदस्य नेत्रराज अधिकारीले कठिन परिस्थितिमा पनि एमाले दृढतापूर्वक अघि बढ्ने बताउँदै भन्नुभयो, “एमाले कुनै पनि बहानामा कमजोर हुँदैन। सच्चा कार्यकर्ता कहिल्यै विचलित हुँदैन, बरु चुनौतीमा अझ सबल बन्छ।”
उहाँले पछिल्ला दिनमा विभिन्न कारण देखाउँदै पार्टीबाट राजीनामा दिने व्यक्तिहरू पार्टीको सिद्धान्त र विचारसँग प्रतिवद्ध हुन नसक्ने स्पष्ट टिप्पणी गर्नुभयो। उहाँको भनाइमा, एमालेलाई जनताले दिएको म्यान्डेट कार्यकर्ताको समर्पण र संगठनको एकतामा निर्भर छ।
‘राजनीतिक अस्थिरता विकासका लागि घातक’
त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री अर्जुन कुमार केसीले वर्तमान राजनीतिक अस्थिरता र अनिश्चितताले देशको दीर्घकालीन विकासका योजना प्रभावित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “एमालेमाथिको आक्रमण केवल पार्टीमाथि होइन, राष्ट्रिय स्वाभिमानमाथि भएको आक्रमण हो।”
केसीले एमालेले सदैव विकास, सुशासन र राष्ट्रिय स्वार्थको पक्षमा काम गरेको भन्दै विदेशी स्वार्थ र अवसरवादी राजनीतिक समूहहरूले असहज महसुस गरेपछि विभिन्न षड्यन्त्र र आन्दोलनको नाटक रचेको टिप्पणी गर्नुभयो।
‘संगठन सुदृढीकरण एमालेको प्राथमिकता’
कार्यक्रममा जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टी संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने आवश्यकता औंल्याउँदै भन्नुभयो, “संगठनकै बलमा हामीले राष्ट्र, समाज र विकासका एजेन्डा अघि सारेका छौं। अब हरेक वडा र टोलस्तरमा सशक्त संगठनका रूपमा एमालेलाई उभ्याउनु हाम्रो पहिलो प्राथमिकता हो।”
उनले जनताको विश्वास, कार्यकर्ताको समर्पण र नेतृत्वको दृढता एमालेको मूल शक्ति भएको उल्लेख गर्दै संगठन सुदृढीकरणमार्फत पार्टीको आदर्शलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो।
‘एकता र अनुशासन नै बलियो संगठनको आधार’
एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तवले पार्टीभित्रको एकता, अनुशासन र निष्ठा कायम राख्न सबै तहका कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “एमाले देशको स्थायित्व, विकास र राष्ट्रिय स्वाभिमानको पर्याय हो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामी सबैले संगठन सुदृढीकरणमा लाग्नुपर्छ।”
त्यसैगरी, पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य अकबाल अहमद शाहले एमालेको पहुँच र प्रभाव सबै धर्म, जात र समुदायमा तीव्र रूपमा विस्तार हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले एमालेलाई सबै समुदायको साझा राजनीतिक संगठनका रूपमा वर्णन गर्दै “देश विकास र राष्ट्रिय एकताका लागि सबै नेपाली एकताबद्ध हुनुपर्छ” भन्ने सन्देश दिनुभयो।
‘जनताको मन र माटोसँग जोडिएको पार्टी’
कार्यक्रमको समापन गर्दै शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै नगर क्षेत्रमा एमाले संगठन अझ बलियो र सक्रिय बन्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको विश्वास, कार्यकर्ताको समर्पण र नेतृत्वको दृढताले हामीलाई नयाँ ऊर्जासहित अघि बढ्न प्रेरित गरेको छ। राजनीति सेवा र विकासका माध्यमबाट सिद्धान्तलाई व्यवहारमा उतार्नु हाम्रो कर्तव्य हो।”


नगर अध्यक्ष पोखरेलले स्थानीयस्तरमा जनताको समस्या समाधान, विकासका एजेन्डा अघि सार्ने र संगठनलाई जनतामाझ अझ नजिक पु¥याउने कार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले एमालेलाई कमजोर पार्ने कुनै पनि प्रयास सफल नहुने दाबी गर्दै भन्नुभयो, “एमाले जनताको मन र माटोसँग गहिरो सम्बन्ध राख्ने पार्टी हो।”

कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देशभक्ति गीत, सांस्कृतिक प्रस्तुतिहरू र शुभकामना मन्तव्यहरू समेत राखिएका थिए।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६