अर्थ-वाणिज्य

तिहारका लागि विद्यालयमै सयपत्री फूल उत्पादन



राँझा (बाँके), ५ कात्तिक

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण गरेको छ ।

विद्यालय परिसरमा खेर गएको जमिनको सदुपयोग गर्दै शिक्षक र विद्यार्थी मिलेर गत वर्षदेखि सुरु गरिएको फूलखेतीले विद्यालयलाई अतिरिक्त आम्दानीको स्रोतसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत दिएको विद्यालयका प्रधानाध्यापक शङ्कर चन्दले बताउनुभयो ।

उहाँका अनुसार करिब दुई कट्ठा जमिनमा फूलखेती गरिएको हो । यो खेतीमा विद्यार्थीहरूको श्रम परेको छ भने विद्यालयले फूलको बिरुवा र व्यवस्थापनमा सहयोग गर्दै आएको छ । प्रधानाध्यापक चन्दले गत वर्षको उत्पादन सन्तोषजनक रहेको बताउँदै भन्नुभयो, “गतवर्ष धेरै राम्रो उत्पादन भएको थियो ।” उहाँका अनुसार गत वर्ष करिब डेढ क्वीन्टल फूल उत्पादन गरी बिक्री वितरण गरिएको थियो ।

यद्यपि यो वर्ष भने बीउ राम्रो नभएका कारण उत्पादनमा केही कमी आएको छ । हालसम्म करिब ५० किलो फूल उत्पादन भएको छ । त्यसमध्ये धेरैजसो फूल विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकमै खपत भएको छ ।

बजारमा पुष्प व्यवसायीहरूले तिहारको समयमा फूल कम उत्पादन गरेका कारण अभाव भइरहेका बेला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरको फूलखेती उपभोक्ताका लागि वैकल्पिक स्रोत बनेको छ । बजारमा अभाव भएकाले आजसम्म पनि विद्यालयमा फूल खोज्न उपभोक्ता आइरहेका छन् । यो वर्ष फूल प्रति किलो रु ३०० का दरले बिक्री भइरहेको प्रधानाध्यापक चन्दले जानकारी दिनुभयो ।

विद्यालयले खेर गइरहेको जमिनको सदुपयोग गरी विद्यार्थीलाई कृषि तथा उद्यमशीलताको व्यवहारिक पाठ सिकाउनुका साथै विद्यालयलाई आर्थिक लाभ पनि पु¥याएको यो कार्य अरू विद्यालयका लागि पनि प्रेरणादायी हुनसक्ने नेपालगञ्ज–१९ का वडाध्यक्ष परसराम कुर्मीले बताउनुभयो ।

प्रकाशित : ६ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६