अन्तर्राष्ट्रिय

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता



टेक्सस (अमेरिका), ६ कात्तिक

नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ ।सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दिपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताउनुभयो । जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा सिटी प्रमुख म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दिपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिक रूपमा स्वीकार गरेको बताउनुभयो । उहाँले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण भएको र यसमा नेपाली समुदायको पनि विशेष योगदान रहेको चर्चा गर्नुभयो ।नेपाली समुदायको तर्फबाट बोल्दै अगुवा ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६