खोज–अनुसन्धान

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण



चितवन, ७ कात्तिक

जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ । सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पु¥याउँदै आएको छ ।

सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार सोसाइटीको शाखा काठमाडौँ, चितवन र झापामा स्थापना गरिएको छ भने अन्य मुख्य सहरहरूमा सोसाइटीका प्रतिनिधिमार्फत रगत आपूर्तिमा सहजीकरण हुँदै आएको छ । उहाँका अनुसार कास्की, नवलपुर, मकवानपुर, पर्सा, बाँके, रुपन्देहीलगायत जिल्लामा प्रतिनिधि सक्रिय रहेका छन् ।

सोसाइटीले विशेष प्राथमिकता युवा र नयाँ रक्तदातालाई दिँदै रक्तदानमा उत्प्रेरणा दिइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार देशभर नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार केन्द्रहरूले रगत सङ्कलन र वितरणको काम गर्दै आएका छन् भने पछिल्लो समय ठूला अस्पतालहरूले आफ्नै अस्पतालमा रगत संकलन र वितरण गर्दै आएका छन् । ती संस्थामा रगत नपाएर खोज्नुपर्ने अवस्थामा सोसाइटीले सहजीकरण गर्ने गरेको छ ।

“रगतको अभावले कसैको उपचार नरोकियोस् भन्ने उद्देश्यले हामी सधैं सक्रिय छौं”, अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँका अनुसार सोसाइटीको नेटवर्कमा हाल १० हजारभन्दा बढी रक्तदाता जोडिएका छन् । सामाजिक सञ्जालमार्फत रक्तसमूह राखी आह्वान गरेपछि रक्तदाता स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सोसाइटीले सञ्चालन गरेको एक अभियानमा एकै दिन एक हजार ७०० युनिट रगत सङ्कलन गरिएको थियो, जुन नेपालकै पहिलो रेकर्ड हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार सोसाइटीले बिरामीका लागि रगत आपूर्तिमा सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । “सोसाइटीका कारण पछिल्ला दिनमा बिरामीहरूलाई राहत मिलेको छ”, पौडेलले भन्नुभयो ।

त्यसैगरी चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सोसाइटी स्थापना भएपछि रगत अभावका कारण बिरामीको उपचार रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार क्यान्सर उपचारमा धेरै मात्रामा रगत आवश्यक पर्छ र चितवनमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार हुने भएकाले सोसाइटीको भूमिका महत्वपूर्ण बनेको छ ।

जिल्लामा दैनिक करिब १५० युनिट रगत आवश्यक पर्ने जनाइएको छ । कोरोना महामारीका समयमा रगतको चरम अभाव भएपछि जिल्लाका स्वयंसेवी रक्तदाताले केन्द्रीय तहमा समन्वय गर्दै यो संस्था स्थापना गरेका हुन् । सोसाइटीले सामाजिक सञ्जालको प्रयोगमार्फत युवा र नयाँ रक्तदातालाई रक्तदानमा उत्प्रेरणा दिँदै आएको छ । सामाजिक क्षेत्रमा सक्रिय योगदानका कारण सोसाइटीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ ।

प्रकाशित : ८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६