जीवनशैली

जनताको सुख–दुःख गाउँदै हिँड्ने जनवादी गायक रमेश अर्याल अब हामीमाझ रहनु भएन

नेपाली जनसंगीतले गुमायो एक प्रगतिशील स्वर, श्रमिक र सर्वहारा वर्गको आवाज



कपिलवस्तुकात्तिक 
जनताको सुख–दुःखका कथा, भावना र आकांक्षालाई गीतमार्फत उजागर गर्दै देशभर डुल्ने जनवादी गायक रमेश अर्याल अब हामीमाझ रहनु भएन । ८५ वर्षको उमेरमा बाणगंगा–१, बैरियास्थित आफ्नै निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

संगीतका माध्यमबाट जनताको आवाज सत्तासम्म पु¥याउने अभियानमा जीवनभर समर्पित रहनुभएका स्व. अर्यालको निधनसँगै नेपाली जनसंगीतले एक प्रगतिशील, सचेतनापूर्ण र जनपक्षीय स्वर गुमाएको छ । उहाँले आफ्नो गीतमार्फत श्रमजीवी वर्ग, किसान, मजदुर र उत्पीडित समुदायको पीडा, संघर्ष र सपना जनताको मुटुसम्म पुर्‍याउनु भएको थियो ।

शनिबार उहाँको पार्थिव शरीरलाई लक्ष्मणघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । अन्तिम श्रद्धाञ्जलीका क्रममा उहाँलाई पार्टीको झण्डा ओढाएर सम्मान गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलराम अधिकारी, कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, नेताहरू झविलाल पोख्रेल, धर्मराज भुसाल, धनु अधिकारी, युवराज पोख्रेल लगायत नेकपा (एमाले) का नेता, कार्यकर्ता, इष्टमित्र, आफन्त र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिती रहेको थियो ।

श्रद्धाञ्जलीका क्रममा पूर्वमन्त्री बलराम अधिकारीले स्वर्गीय अर्यालको योगदानको स्मरण गर्दै भन्नुभयो, रमेश अर्याल केवल गायक होइन, परिवर्तनका सच्चा सिपाही हुनुहुन्थ्यो । उहाँले गीतमार्फत जनताको आवाज जनताको झुपडीसम्म पु¥याउनुभयो । उहाँको योगदान नेपाली परिवर्तनको आन्दोलनमा अमिट रहन्छ ।”

त्यसैगरी नेता धर्मराज भुसालले स्वर्गीय अर्याललाई *“सादा जीवन र उच्च विचारका धनी, जनताको कलाकार”*को रूपमा व्याख्या गर्दै भन्नुभयो,

उहाँले विपन्न समुदाय, किसान र श्रमिकका भावनालाई गीतमार्फत व्यक्त गर्नुभयो । उहाँको संगीतले जनताको आत्मा बोलेको थियो ।”

श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल लगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको पनि उपस्थिती रहेको थियो ।

स्वर्गीय अर्याल नेपाली संगीत क्षेत्रका ती दुर्लभ कलाकारमध्ये एक हुनुहुन्थ्यो, जसले संगीतलाई केवल मनोरञ्जनको माध्यम नभई सामाजिक चेतना र परिवर्तनको हतियारका रूपमा प्रयोग गर्नुभयो । उहाँका गीतहरूमा देशभक्ति, समानता, समाजवाद र जनताको स्वाभिमानको स्वर गुन्जिन्थ्यो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गाउँ–शहर डुल्दै उहाँले जनजीवनका कथा, आशा र वेदनालाई गीतमार्फत अभिव्यक्त गर्नुभएको थियो । जीवनको अन्तिम समयसम्म पनि उहाँले गीत र संगीतप्रतिको समर्पणलाई निरन्तरता दिनु भएको थियो ।

उहाँको स्वरमा गाइएको गीतहरूले केवल सुरताल मात्र होइन, संघर्ष, पीडा र आशाको गहिरो सन्देश बोकेको पाईन्छ । उहाँका गीतहरूले पुस्तौँलाई जनचेतना र जागरणको दिशामा अघि बढ्न प्रेरित गरेका छन् । रमेश अर्यालको निधनले नेपाली जनसंगीत र सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पु¥याएको छ । उहाँको जीवनले देखाएको संघर्ष, त्याग र समर्पण नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहिरहनेछ । स्व. अर्यालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।


प्रकाशित : ९ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६