जीवनशैली

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित



राँझा (बाँके), ९ कात्तिक

राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो पटक शनिबार बाघको आक्रमणमा परी राप्तीसोनारी–९ गुरुवागाउँ नमूनाटोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएपछि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको द्वन्द्व बढ्दै गएको छ ।

शुक्रबार दिउँसो घाँस काट्न गएका खत्री साँझसम्म पनि घर नफर्केपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास गर्दा शनिबार बिहान जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । स्थानीयको सुरक्षामा निकुञ्ज प्रशासनले बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरुले शनिबार घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मी डिल्ली शाहीमाथि हातपातसमेत गरेका छन् । 

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

उहाँले मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुन बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।

 निकुञ्ज वरिपरिका क्षेत्रमा पटक–पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । 

प्रकाशित : १० कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६