कर्णाली

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति



महेन्द्रनगर, १० कात्तिक

‘जेनजी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा  कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

आंशिक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् । 

प्रदेशमा ५७३ दुई पाङ्ग्रे र १३५ चार पाङग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवदेन आए पनि जाहेरी नआएको बताउनुभयो । उहाँले जोहरी आए सङ्कलन गरिने बताउनुभयो । यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना फरार र  खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताउनुभयो । उहाँले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको बताउनुभयो । 

“कारागारबाट भागेकामध्ये ४०६ जना फर्केर आएका छन् । अझै २०० भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ”, प्रवक्ता सिंहले भन्नुभयो, “हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।”

आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।

प्रकाशित : ११ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६