अर्घाखाँची, कात्तिक १०
अहिलेको सङ्घिन र संवेदनशील घडीमा संविधान र विद्यमान व्यवस्थाको रक्षा गर्नु हरेक नागरिकको साझा कर्तव्य भएको बताउँदै नेकपा (एमाले) अर्घाखाँचीले सद्भाव र्यालीको आयोजना गरेको छ। लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य, एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा लगायतका नेताहरुको नेतृत्व रहेको र्यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका नेता, कार्यकर्ता र सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देशका नारासहित र्याली प्रदर्शन गरेका थिए।

कार्यक्रममा वक्ताहरूले देशमा देखा परेका अस्थिरता र वैमनस्यपूर्ण अवस्थाको अन्त्यका लागि सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले प्रतिशोध र बदलाको भावना त्याग्दै शान्ति र सहअस्तित्वको संस्कृतिद्वारा मात्रै संविधान र व्यवस्थाको रक्षा सम्भव हुने धारणा व्यक्त गरे।
एमालेका स्थानीय नेताहरूले सचेत नागरिकका रूपमा आफ्नो दायित्व र जिम्मेवारी आत्मसात् गर्न सबैलाई आग्रह गरे। उनीहरूले भने, “राष्ट्रिय एकता र दीगो शान्तिका लागि सद्भाव र एकताका अभियानहरू प्रत्येक नागरिक र दलको साझा जिम्मेवारी हो। एमालेले सुरु गरेको यो सद्भाव र्याली राम्रो अभ्यास हो, जसको अनुसरण अन्य राजनीतिक दलहरूले पनि गर्नु आवश्यक छ।”
र्यालीमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश गाउँ–गाउँ पु¥याउने उद्देश्य रहेको बताइएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई आयोजकहरूले आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा शान्ति र सद्भावका अभियान अघि बढाइने प्रतिबद्धता जनाए।








प्रतिक्रिया