कपिलवस्तु, ११ कात्तिक
सूर्यदेव र छठी माताको आराधनामा समर्पित लोकआस्था र संस्कृतिको महान पर्व छठ शुक्रबार कपिलवस्तुमा पनि अत्यन्त श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सुरु भएको यो पर्वले जिल्लाभर धार्मिक र सांस्कृतिक उमंग भरिएको देखिएको छ।

शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका–१ चपरतल्लास्थित सझीया घाट (जमुहार नदी) र बाणगंगा नदीको रामघाटमा बिहानदेखि नै भक्तजनको घुइँचो लागेको थियो। महिलाहरू परम्परागत वेशभूषामा सुसज्जित भई हातमा दउरा, दियो, फलफूल, ठकुवा, थियोरा, केरा, नरिवल आदि प्रसादसहित घाटतर्फ निस्किएका थिए। साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजनहरूले छठी माताको पूजा आराधना गरे। वातावरण भक्तिपूर्ण गीत–संगीत र मन्त्रगानले गुन्जिएको थियो।
यस्तै, कृष्णनगर, बहादुरगंज, पत्थरदेवा, शिवपुर लगायतका स्थानहरूमा रहेका पोखरी तथा नदीघाटहरूमा पनि स्थानीयवासीले सामूहिक रूपमा सूर्य आराधना गरेका थिए। कतिपय स्थानमा स्थानीय समुदाय र संघ–संस्थाले सामूहिक पूजा आयोजना गरी निःशुल्क व्यवस्था मिलाएका थिए।

चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् शुक्रवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो भने शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रतालुहरूले उपवास तोड्दै पर्वको समापन गर्छन्। यस पर्वलाई पवित्रता, आत्मसंयम र आस्थाको प्रतीकका रूपमा लिइन्छ।
छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रतिको आदरभाव प्रकट गर्दै समाजमा आपसी एकता, समर्पण र सहअस्तित्वको सन्देश दिने मान्यता रहिआएको छ। कपिलवस्तुमा पनि यो पर्वले धार्मिक सद्भाव र सांस्कृतिक सहजीवनलाई झल्काएको देखिएको छ।








प्रतिक्रिया