देउखुरी, कात्तिक ११।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालस्थित बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा सम्पन्न सो भेटवार्तामा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको प्रभावकारी कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश तथा स्थानीय तहहरूले आफ्ना निर्धारित कार्यक्रमहरूलाई कार्यान्वयनको दिशामा अघि बढाइरहेको जानकारी गराउँदै संघीयता सुदृढीकरण र नागरिकको जीवनस्तर सुधार प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक परिवर्तनपछि देशमा देखिएका प्रशासनिक तथा संरचनागत जटिलताले नीति कार्यान्वयनमा चुनौती उत्पन्न गराएको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सहयोगमा संचालित परियोजनाहरूलाई पनि स्थायित्वका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले संघीयतालाई बलियो बनाउने, जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
उहाँका अनुसार प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख भएका कारण चालू आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्नुपर्ने अवस्था आएको भए पनि जनजीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रमहरूमा कटौती नगरिएको स्पष्ट पार्नुभयो।
सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले पाँच लाख रुपैयाँभन्दा माथिका सबै योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अपनाइएको बताउनुभयो। उहाँले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, युवाहरूका आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी पनि उहाँले दिनुभयो। उक्त समितिले प्रतिवेदनमार्फत सुझाव पेस गर्ने र त्यसका आधारमा प्रदेश सरकारले नीतिगत तथा व्यावहारिक काम अघि बढाउने बताउनुभयो।
बेलायती दूतावासका प्रतिनिधि एन्ड्रु लङले नेपाल र बेलायतबीचको मित्रता अझ सुदृढ बनाउँदै सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग निरन्तर रहने आश्वासन दिनुभयो। भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपालसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो।








प्रतिक्रिया