कात्तिक १४, बाणगंगा, कपिलवस्तु
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीगो व्यवस्थापनका लागि बाणगंगा नगरपालिकाले सञ्चालन गरेको जग्गा नापी कार्यक्रम अन्तर्गत उल्लेखनीय प्रगति भएको छ।
नगरपालिकाले गत २०८१ साल चैत्र ३ गते बाट सुरु गरेको नापी कार्य वडा नं. ७ को मोतिपुर डाँडाँस्थित मोतिपुर ब्लक नं. १ बाट प्रारम्भ भएको हो। प्रारम्भिक चरणमा ३ बिघा १६ कठ्ठा ७ धुर क्षेत्रफलको जग्गा नापी गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो।
नगरपालिकाको तथ्यांक अनुसार हालसम्म —वडा नं. ७ मा करिब ३० बिघा क्षेत्रफलको जग्गा नापी कार्य सम्पन्न भइसकेको छ। सोही वडा अन्तर्गत ३९ परिवारका लागि ७ दिने दाबी–विरोध सूचना समेत प्रकाशित गरिएको श्रोतले जनाएको छ।
वडा नं. २ मा ५ बिघा, वडा नं. ८ मा २५ बिघा, वडा नं. ९ मा २ बिघा, र वडा नं. ११ मा करिब ८ बिघा क्षेत्रफलको नापी कार्य सम्पन्न भइसकेको नगरपालिका स्रोतले जनाएको छ। यस्तै हाल वडा नं. ४ हरिहरपुर क्षेत्रमा करिब ४० बिघा क्षेत्रफलमा नापी कार्य प्रक्रियामा रहेको छ। नगरपालिकाले भूमिहिन, दलित र सुकुम्बासी परिवारहरूको स्थायी पुनस्र्थापना, दर्ता तथा स्वामित्व सुनिश्चित गर्ने उद्देश्यका साथ चरणबद्ध रूपमा कार्य अगाडि बढाएको जनाएको छ। नयाँ सरकार निर्माण संगै नापी कार्य रोकिएको श्रोतले जनाएको छ ।








प्रतिक्रिया