देश

एमाले अध्यक्ष ओलीको भावनात्मक अपिल‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्’



कात्तिक १४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसका नेता तथा कार्यकर्ताहरूप्रति भावनात्मक आह्वान गर्दै पार्टीमा फर्किन आग्रह गर्नु भएको छ ।
“जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् — यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,” भन्दै अध्यक्ष ओलीले सबैलाई पुनः एकताबद्ध हुन आग्रह गर्नु भएको हो ।
अध्यक्ष ओलीले लोकतन्त्रको स्थापनादेखि विकास र राष्ट्रिय स्वाभिमानको संरक्षणसम्म नेकपा (एमाले)को अग्रणी भूमिका रहेको उल्लेख गर्दै भन्नुभयो —“निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा हाम्रो पार्टी सधैं अग्रपंक्तिमा रह्यो। राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बनेको छ।” उहाँले नेकपा (एमाले)लाई केवल राजनीतिक संगठन नभई जनताको रगत, पसिना र आशाबाट बनेको परिवारका रूपमा व्याख्या गर्नुभयो ।
“तीन पुस्ताले यो पार्टीको जग बसाल्न आफ्नो जीवनका उज्याला क्षण अर्पण गरेका छन् — कसैले जेलयातना सहे, कतिले जीवन बलिदान गरे, कतिले युवावस्था आन्दोलनमा समर्पण गरे। यही समर्पणले आजको बलियो एमाले निर्माण भएको हो,” ओलीले स्मरण गर्नुभयो ।
देशको सार्वभौमसत्ता र लोकतान्त्रिक संविधानमाथि चुनौती बढ्दै गएको अहिलेको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो —“राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी मौन बस्न सक्दैनौं। सबै एकै स्वर र दिशामा अघि बढ्नुपर्छ।”
अन्त्यमा अध्यक्ष ओलीले नेकपा एसका नेता, कार्यकर्ता र सबै पूर्वकार्यकर्ता र नेताहरूप्रति पुनः आव्हान गर्दै भन्नुभयो —“आउनुस्, आफ्नै घर फर्किनुस्। काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनजीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं। हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली।”

प्रकाशित : १५ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६