गण्डकी

निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल



चितवन, १६ कात्तिक

विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो ।

माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात मिटरमा मोज्याक टायल लगाउन लागिएको हो । यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।

प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । सो रकमले काम थालनी गर्ने उहाँको भनाइ छ । राजमार्गस्तरको बाटोमा नेपालमा अहिलेसम्म मोज्याक टायल नलगाइएकाले लागत अनुमान गर्न कठिन भएको छ । 

नगरपालिकाले सडक विभाग र निकुञ्जका प्राविधिकको परामर्शमा लागत अनुमान तयार गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गमा बलियो संरचना निर्माण गर्नुपर्ने भएकाले कालोपत्रभन्दा महँगो हुँदोरहेछ, यो वर्ष हाम्रो रकमले थोरै क्षेत्रमा काम हुन्छ ।” यसको प्रभावकारितालाई हेरेर आगामी वर्षको बजेटमा सङ्घ, प्रदेश र पालिकाले बजेट विनियोजन गरी थप काम गर्ने उहाँको भनाइ छ ।

कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राख्न लागिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिनुभयो ।

निकुञ्जका सूचना अधिकारी अविनाथ थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उहाँले भन्नुभयो, “काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छाैं ।”

माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् । त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए ।

माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ । माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्वर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो ।

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६