बाणगंगा, कपिलवस्तु, कार्तिक १९
हरियो वन, हाम्रो धन—यही भावनालाई व्यवहारमा उतार्दै बाणगंगा नगरपालिका–८ स्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १५औं वार्षिक साधारण सभा मंगलबार वनकै परिसरमा उत्साहपूर्वक सम्पन्न गरेको छ ।
सभामा वन संरक्षणसँगै समुदायको जीवनस्तर उकास्ने विभिन्न सृजनात्मक कार्यक्रम र उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि चार करोड ८९ लाख ९७ हजार ७९५ रूपैयाँ बराबरको बजेट पारित गरिएको छ ।
साधारण सभामा मुख्य गरी आर्थिक पारदर्शिता, वृक्षरोपण अभियान, सामुदायिक भवन निर्माण, रोजगारीमुखी कार्यक्रम र महिला सशक्तीकरण मुख्य प्राथमिकतामा परेका छन् । वनले स्थानीय युवाहरुलाई खेलकुदतर्फ प्रोत्साहित गर्दै क्रिकेट ब्याट, बललगायत खेल सामग्री वितरण गरेको छ भने भजन मण्डलीहरूलाई मादल, खैजडी र मजुरा हस्तान्तरण गरी सांस्कृतिक जीवन्तता जोडिएको छ । सचिव सिता भुसालले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमा वनले गत वर्ष वन क्षेत्र विस्तार, हेरचाह, नवीनीकरण र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको विवरण प्रस्तुत गरिएको थियो ।

वनमै समृद्धिको आधार नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वन अब वातावरणीय सन्तुलनको मात्र होइन, स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनेको बताउनु भयो । उहाँले भन्नुभयो —“दिगो वन व्यवस्थापनका लागि समुदायको अग्रसरता नै समृद्ध बाणगंगाको पहिचान हो । वनलाई नगरको प्राथमिक विकास क्षेत्रका रूपमा अघि बढाइनेछ ।”
नेपालको सफल मोडल डिभिजन वन कार्यालयका प्रमुख इश्वरी प्रसाद पौडेलले सामुदायिक वनलाई नेपालको सफल मोडेल भन्दै,“ वैज्ञानिक दृष्टिकोण र सहकार्यकै माध्यमबाट मात्र वनको दीगो उपयोग सम्भव छ,” ।

पारदर्शिता र आत्मविश्वासको उदाहरण वन अध्यक्ष डिल्लीराज रेग्मीले वनको आर्थिक गतिविधि, आय–आर्जनका कार्यक्रम र सुशासनप्रतिको प्रतिबद्धता उजागर गर्दै भन्नु भयो —
“हामी अख्तियारका उजुरीबाट विचलित हुने होइनौं, सुझाव र आलोचनालाई सुधारको अवसरका रूपमा लिन्छौं ।”

सभामा प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक अगुवा, सरकारी अधिकारी, संघसंस्था र उपभोक्ताहरूको उत्साहपूर्ण सहभागिता थियो ।








प्रतिक्रिया