देश

‘जेनजी’को चाहना पूरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की



काठमाडौँ, २१ कात्तिक

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताउनुभएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उहाँले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरू आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,” उहाँले भन्नुभयो । जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उहाँको भनाइ छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकामा हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताउनुभयो । उहाँले नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदाय स्तरबाट प्रहरी भवन बनेर समाजप्रति प्रहरीको औचित्यलाई पुष्टि गरेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । 

प्रकाशित : २२ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६