कपिलवस्तु, २२ कात्तिक
कपिलवस्तुमा आगामी मंसिर १८ देखि पुस १ गतेसम्म आयोजना हुने १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ का तयारी तीव्र गतिमा अघि बढिरहेका छन्। आयोजक बाणगंगा वेलफेयर सोसाइटीले आन्तरिक तयारी सकिएर अब भौतिक संरचना निर्माणमा ध्यान केन्द्रित गरिने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवको मुख्य उद्देश्य कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।
अध्यक्ष खाँणले “यो महोत्सव व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थको परिणाम होइन, समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो।” अध्यक्ष खाँणका अनुसार, महोत्सवको तयारीमा सुरक्षा संयन्त्र सुदृढीकरण विशेष प्राथमिकतामा राखिएको छ।
सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय, निजी सेक्युरिटी कम्पनीसँग सम्झौता, सिसिटिभी क्यामेरा र ड्रोनमार्फत निगरानी व्यवस्था मिलाइनेछ। साथै, ४० भन्दा बढी स्वयम्सेवक स्थलमा परिचालित हुनेछन्।
कृषि, पर्यटन र उद्योगको प्रदर्शनीमुख्य आकर्षण
सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले यस वर्षको महोत्सवलाई राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनु भयो । क्षेत्रीका अनुसार, महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, व्यापार मेला, मनोरञ्जनात्मक गतिविधि, निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम र शैक्षिक गतिविधि रहनेछन्।
क्षेत्रीले “यो महोत्सव कपिलवस्तुको सम्भावना र अवसरलाई देश–विदेशमा चिनाउने माध्यम बन्नेछ। सबै पक्षको सहकार्यमा यसलाई भव्य र प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता छ।”
यस वर्षको महोत्सवको मूल नारा —
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी।”
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष विष्णु प्रसाद न्यौपाने, युवा समाजसेवी शक्तिसिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो।
१४ औं कपिलवस्तु डान्स आइडल प्रतिभा खोज्ने मञ्च
१६औं महोत्सवको विशेष आकर्षणका रूपमा १४औं कपिलवस्तु डान्स आइडल पनि आयोजना हुने भएको छ।
जिल्ला भित्रका प्रतिभाशाली युवायुवतीलाई मञ्च प्रदान गर्नका लागि यो प्रतियोगिता आयोजना गरिँदैछ।
प्रतियोगिताको छनोट प्रक्रिया केही दिनमै सुरु गरिने तयारी भइरहेको सोसाइटीका अध्यक्ष खाँणले जानकारी दिनु भयो ।
महासचिव क्षेत्रीका अनुसार, विजेताहरूका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ —प्रथम स्थान ः रु. १ लाख २१ हजार १२१ र चाँदीको टोपी,द्वितीय स्थान ः रु. ८१ हजार १८१, तृतीय स्थान ः रु. ६१ हजार १६१ डान्समा रुचि भएका प्रतियोगीहरूले बाणगंगा वेलफेयर सोसाइटीको कार्यालय, चारनम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
महोत्सवको सन्देश
बाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा आयोजना हुने यो महोत्सवले स्थानीय अर्थतन्त्र, कृषि प्रवद्र्धन, पर्यटन विस्तार र उद्योग विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ। आयोजकको भनाइमा, “१६औं कपिलवस्तु महोत्सव केवल उत्सव होइन — यो कपिलवस्तुको सम्भावना र एकताको साझा उत्सव हो।”








प्रतिक्रिया