बाणगंगा, कपिलवस्तु – कात्तिक २२
श्री जनचेतना आधारभूत विद्यालय, बाणगंगा नगरपालिका–७ बनगाईले विद्यार्थीमा व्यवहारिक ज्ञान र सीप विकास गर्ने उद्देश्यले “खाना महोत्सव–२०८२” सम्पन्न गरेको छ। विद्यालयले पहिलोपटक आयोजना गरेको यस महोत्सवले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै जीवन उपयोगी सीप सिक्ने अवसर प्रदान गरेको छ।

महोत्सवमा विद्यार्थीहरूले आफ्नै समूहगत प्रयासमा स्थानीय परिकारदेखि आधुनिक स्वादका विविध खानाका परिकारहरू तयारी गरी प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका सिर्जनात्मकता, आत्मविश्वास र प्रस्तुतिकरण क्षमताको प्रदर्शन भएको विद्यालयका प्रधानाध्यापकले बताउनु भयो ।
कार्यक्रममा अभिभावक, समुदायका अगुवा र विद्यालय परिवारको उत्साहजनक सहभागिता रह्यो। अभिभावकहरूले विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेर अध्ययनसँगै व्यावहारिक शिक्षालाई जोड दिएको भन्दै प्रशंसा गरेका थिए।

विद्यालयका अनुसार खाना महोत्सवले विद्यार्थीहरूमा “शिक्षा केवल किताबसम्म सीमित छैन, व्यवहारमा प्रयोग गर्न सकिने सीप हो” भन्ने सन्देश दिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सीपमूलक शिक्षा, आत्मनिर्भरता र सृजनात्मकतालाई प्राथमिकतामा राखिने बताउनु भयो ।
यस महोत्सवलाई विद्यालयको शिक्षामा नवप्रयोग, विद्यार्थीको व्यवहारिक सीप विकास र सामाजिक सहभागिताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।








प्रतिक्रिया