अर्थ-वाणिज्य

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन



गलकोट (बागलुङ), २३ कात्तिक

मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि रु ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कथावाचनको पहिलो दिन नै तीनवटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् । शनिबार बागलुङ नगरपालिका–४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गर्नुभएको छ । बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराउनुभएको हो । उहाँहरूले रु पाँच लाख ११ हजार योगदान गर्नुभएको आश्रमले जनाएको छ । यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गर्नुभएको थियो । वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडकआश्रित, असहाय र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ । यस्तै काठेखोला गाउँपालिका–५ फूलपातीडाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानवसेवा आश्रम शाखाको भवन निर्माणका लागि रु पाँच लाख ११ हजार सहयोग गर्नुभएको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गर्नुभएको छ । –––

प्रकाशित : २४ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६