मंसिर ११ गतेदेखि १७ गतेसम्म “भगीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” गरिने भएछ, बाणगंगा नगरपालिका–८ कपिलवस्तुको भगीरथी गौ संरक्षण विकास केन्द्रमा । केन्द्रका अध्यक्षका अनुसार, महोत्सवको मुख्य उद्देश्य छाडा चौपाया व्यवस्थापन, गौ संरक्षण, आध्यात्मिक चेतना तथा सामाजिक एकता प्रवद्र्धन गर्नु रहेको छ । कार्यक्रममा गौसेवा, योग–ध्यान, धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शन लगायतका विविध गतिविधिहरू समावेश गरिने तयारी रहेछ । अस्ती शनिबार केन्द्रमा सम्पन्न तयारी बैठकले महोत्सव व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन गर्दै विस्तृत कार्ययोजना सार्वजनिक गरेछ । जसमा उद्घाटनसहित सात दिनसम्म चल्ने महोत्सवमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका साधु–सन्त, विद्वान र समाजसेवीहरूको विशेष प्रवचन हुनेछ । दैनिक गौपूजन, आरती, भजन–कीर्तन र नाट्य प्रस्तुति कार्यक्रम मुख्य आकर्षण हुने बताइएको छ ।
नौलो महोत्सव हो यो, कस्तो होला भन्ने जिज्ञासा वा कौतुहल जाग्ला धेरैलाई । आयोजक र प्रायोजकले विशेष ध्यान पनि देलान् बहुपयोगी र समाजोपयोगी बनाउन । सफलता मिलोस् भन्ने अग्रिम शुभकामना छ हाम्रो पनि । तर मेला, महायज्ञ र महोत्सवका नाममा विगतमा झै ठेकेदार सहित आयोजकमा रहेका चल्तापूर्जा र टाँठा–बाठा मोटाउने, वरिवरिका जनताका खल्ती रित्याउने, त्यसपछि जस्ताको तस्तै हुने नहोस् । बाटाभरि जताततै छाडा चौपायको समस्या छ । त्यसको निराकरणका लागि अलि सुझबुझपूर्ण, दीर्घकालीन योजनानुसार, परम्परागत संस्कार र संस्कृति अनुकूल हुने गरी व्यवस्थापन गर्न र गराउन यो महोत्सव सहयोगी बनोस् । दुनियाले स्यावासी दिदै भनोस् – महोत्सव साँच्चैको उपलब्धिमूलक बन्यो । छाडा चौपायाको समस्या हटाउन मद्दत ग¥यो । हिन्दूहरुले घर–घरमा गाई पाल्न थाले, महत्व बुझेर । अब जालान् आफै पारिवारिक, व्यवहारिक र स्वास्थ्योपचारका धेरै समस्या हटेर ।

दुःखका साथ भन्नै पर्छ – सडकभरि गाई, गोरु, बाच्छा र बाच्छी बेवारिसे छन् । तर दुध, मल र अत्यावश्यक औषधिको अभाव छ । भन्दा लक्ष्मी माता र गौमाता भन्ने, धन्दाचाहिँ देख्दा वित्तिकै लखेट्ने, छाडा छोड्ने । अनि कर्मकाण्डादि यज्ञ र उपचार गर्न पर्दा गाईको दूध, गहँुत, गोबर, दही र घिउ आदि खोज्ने । कहाँ कसरी पाउने ? साह्रै समस्या छ । पञ्चगव्य वा गोमुत्र चिकित्साका लागि मात्रै हैन, आयुर्वेदिक उपचारका लागि चाहिने धेरैजसो औषधिमा गाईको मल, मुत्र, दूध, दही र घिउको आवश्यकता पर्छ । कामधेनु, कोपिला र नन्दिनी जस्ता नहोलान्, नभेटिएलान् । तर स्थानीय जातका, वनमा चर्ने, जुरो, सिङ र खुर भएका, बाँ गरेर कराउने मात्रै भएपनि काम चलाउन सकिन्छ, जसलाई काठेगाई भनिन्छ । ती गाईले दूध थोरै देलान्, घिउ पनि कमै लाग्ला । तर त्यसबाट हुने फाइदा अतुलनीय छ । यस्ता विषयमा राम्रै गरी सिकाइने वा प्रशिक्षण दिने कार्यक्रम गरियोस् भन्ने सुझाव छ हाम्रो पनि ।
मान्छेको अभाव छैन नेपालमा, उत्पादनमूलक काम गर्नेको भयो । मल, गाई, गोरु, दुध, दही र घिउको हैन, सदुपयोगको शिक्षा नपाएर आफै सरिक भएर नगरेर अभाव भएको हो ।








प्रतिक्रिया