बाणगंगा, कपिलवस्तु — कात्तिक २४
खाद्य प्रणाली सम्बन्धी रणनीतिक योजना निर्माण तथा कार्यान्वयनका विषयमा सिकाई आदान–प्रदान कार्यक्रम बाणगंगा नगरपालिकामा सम्पन्न भएको छ। कपिलवस्तु जिल्लाका मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकाका प्रतिनिधिहरूको सहभागितामा बाणगंगा नगरपालिका सभा हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजनामा तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले आफ्नो–आफ्नो स्थानीय तहमा खाद्य प्रणाली सुधारका प्रयास र अनुभव साझा गरेका थिए। कार्यक्रममा खाद्य सुरक्षाको अवस्था, पोषणयुक्त तथा दिगो कृषि उत्पादनका चुनौती, जलवायु परिवर्तनको प्रभाव र स्थानीय नीति कार्यान्वयनमा देखिएका अवसरहरूबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख उद्देश्य स्थानीय तहहरूबीच ज्ञान र अनुभव आदान–प्रदान गरी खाद्य प्रणाली सुधारका रणनीतिक योजनालाई व्यवहारिक रूप दिनु रहेको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले कृषिमा नवप्रविधिको प्रयोग, माटोको स्वास्थ्य परीक्षण, बजार व्यवस्थापन, खाद्य मूल्य सन्तुलन, दिगो उत्पादन प्रणाली, महिला तथा विपन्न किसानको सहभागिता सुनिश्चितता जस्ता विषयमा सुझाव दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रशासकीय अधिकृत भक्तिराम मरासिनी,

कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेस बहादुर केसीले नगरका सिकाई, अनुभव, समस्या र चुनौतीका विषयमा नगरका अनुभव प्रस्तुत गर्नु भएको थियो ।्कार्यक्रममा किसान समूहका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका कालिका स्वावलम्बन सामाजिक केन्द्रका प्रतिनिधि विकास आचार्य, निशान कुवँरले रणनीतिक योजना निर्माणका सन्दर्भमा आफ्ना सिकाई, अनुभव राख्नु भयो । कार्यक्रमका सहभागीले दृष्टिकोणको महत्व औंल्याउँदै स्थानीय सरकारबीचको सहकार्यले मात्र दीगो खाद्य प्रणाली निर्माण सम्भव हुनेमा जोड दिएका थिए।
कार्यक्रम अन्त्यमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले आगामी दिनमा संयुक्त रुपमा साझा योजना र कार्यान्वयन मोडेल तयार गरी जिल्लाभर खाद्य सुरक्षाको स्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।








प्रतिक्रिया