अर्थ-वाणिज्य

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान




पर्वत, २५ कात्तिक 

कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ ।

कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ ।

स्थानीय किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा हाइटेक टनेल निर्माण कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार यो कार्यक्रमले उत्पादनमा विविधता ल्याउने, बेमौसमी सब्जी खेतीलाई निरन्तरता दिने र युवालाई कृषिमा पुनःआकर्षित गर्ने अपेक्षा गरिएको छ । 

“हामीले यस कार्यक्रममार्फत कृषकलाई प्रविधिको पहुँचमा ल्याउँदै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले भन्नुभयो । उहाँका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ ।

विहादीका अधिकांश किसानले विगत केही वर्षयता सानासाना टनेल प्रयोग गरेर प्रशस्त उत्पादन गरेका छन् । प्रविधिको पहुँच, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको स्थानीय किसानको भनाइ छ । 

गाउँपालिकाले यही आवश्यकता महसुस गर्दै सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।

“छ वटा वडा रहेको विहादीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्रशस्त सम्भावना रहेको छ । यहाँका सयौँ कृषक व्यावसायिक कृषिमा लागेका छन् । सडकको राम्रो पहुँच विस्तार भएसँगै बजारको समस्या छैन”, उहाँले भन्नुभयो ।

कार्यक्रमअन्तर्गत सहभागी हुन चाहने कृषक, समूह वा सहकारीले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय कृषक समूहलाई प्राथमिकता दिइने छ ।

यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने पालिकाको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था सिर्जना गर्ने र गाउँमै रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको उहाँको भनाइ छ । 

कृषि क्षेत्रलाई जोड दिँदै आएको विहादीले यसअघि पनि टनेल विस्तार अभियान थालेको थियो । टनेलसँगै मल्चिङ प्लाष्टिक, सिकेचर, स्प्रे तथा बीउबिजनमा अनुदान दिँदै आएको जनाएको छ । 

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६