रामजित तेली, महाराजगञ्ज, कात्तिक २५
महाराजगञ्ज नगरपालिकामा सोमबार “पोषण मार्फत जीवन रूपान्तरण परियोजना” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र परियोजना सल्लाहकार समिति बैठक सम्पन्न गरिएको थियो। बैठकमा नगरभित्र रहेका कुपोषित बालबालिकाको अवस्था, कारण र समाधानका उपायहरू बारेमा बृहत् छलफल गरिएको नगरपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०८१÷८२ मा नगर क्षेत्रमा साम र माम वर्गका ४७८ जना बालबालिका कुपोषित अवस्थामा रहेका विवरण बैठकमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले यस अवस्थाको गम्भीरता महसुस गर्दै, स्थानीय तहको योजनाबद्ध प्रयास, परिवारस्तरको सचेतना र नियमित पोषण अनुगमन मार्फत कुपोषण घटाउन सकिने निष्कर्ष निकालेको प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मीले जानकारी दिनु भयो ।

स्वास्थ्य शाखा प्रमुखका अनुसार, उपचारका क्रममा रगत आवश्यक पर्ने कुपोषित बालबालिकाहरूका लागि नगरपालिका र बुटवलस्थित रेडक्रस सोसाइटीबीच सम्झौता गरिएको छ। यस सम्झौता अनुसार नगरवासी र नगरपालिका कर्मचारीले निःशुल्क रगत सेवा पाउने सुविधा पाउने भएका छन्।
नगर प्रमुखका अनुसार, “पोषण सुधार केवल स्वास्थ्यसँग मात्र होइन, जीवनशैली, सशक्त परिवार र सक्षम समुदायसँग पनि प्रत्यक्षरूपमा जोडिएको विषय हो। नगरपालिका अब प्रत्येक वडामा पोषण सचेतना र निगरानी अभियानलाई थप सशक्त बनाउने तयारीमा छ।”
यस परियोजनाबाट नगरपालिका र समुदायबीचको सहकार्य अझ सुदृढ बनेको छ। पोषण सचेतना, उपचार सुविधा र आवश्यक सेवा प्रवाहमा स्थानीय तहको सक्रियता देखिनु सकारात्मक संकेतका रूपमा लिइएको छ। कार्यक्रम कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहकार्यमा आयोजना गरिएको नगरपालिकाकाले जनाएको छ ।
कार्यक्रमले कुपोषित बालबालिकाको पहिचान, उपचार र पुनःस्थापना, समुदायस्तरमा पोषण सचेतना विस्तार, स्थानीय स्रोत र सहकार्य संस्थाको प्रभावकारी उपयोगलाई जोड दिएको छ । यस प्रयासहरूले महाराजगञ्जलाई स्वस्थ, सशक्त र पोषणमैत्री नगरपालिका बनाउने आधार तयार पार्ने अपेक्षा लिइएको छ।








प्रतिक्रिया