बाणगंगा, कपिलवस्तु — कात्तिक २५
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका अन्तर्गत वर्गदीघाट बगरमा हालका दिनमा मम्फली (बदाम) खेतीले कृषकहरूको आर्थिक जीवनमा नयाँ उज्यालो फैलाइरहेको छ। बाणगंगा नदी किनारका बालुवायुक्त जमिनमा २०० भन्दा बढी कृषकले गरेको मम्फली खेती अहिले गाउँको पहिचान बनेको छ।
कृषकहरूका अनुसार एक हेक्टर जमिनमा झन्डै २५–३० क्विन्टल मम्फली उत्पादन हुने गरेको छ। अहिले बजारमा काँचो मम्फली प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ। सोही कारण कृषकहरू यस वर्षको आम्दानीप्रति निकै उत्साहित छन्।
मम्फली खेतीमा संलग्न किसान रामनाथ यादव भन्छन्, “पहिले यही बगरमा बिउ पनि नउम्रिने बन्चरो लगाउँथ्यौं, अहिले मम्फली लगाएर परिवार पाल्न सक्ने भइयो। माटो पनि राम्रो छ, पानीको निकास सजिलो छ।”
हाल कपिलवस्तु जिल्लामा करिब २५ हेक्टर क्षेत्रफलमा मम्फली खेती भइरहेको अनुमान गरिएको छ। यद्यपि, यसबारे औपचारिक तथ्यांक भने कृषि ज्ञान केन्द्रमा उपलब्ध छैन। कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार, “मम्फली खेतीको संभाव्यता उच्च छ। यो बालुवायुक्त बगरमा उत्कृष्ट रूपमा फस्टाउँछ र यसले कृषकलाई नगदे आम्दानीको राम्रो विकल्प प्रदान गर्न सक्छ।”
स्थानीय तहहरूले पनि यस खेतीलाई प्रोत्साहन गर्न पहल गर्न थालेका छन्। मम्फली खेतीका लागि आवश्यक प्रविधि, बीउ, र बजार व्यवस्थापनमा सहयोग उपलब्ध गराउने योजना रहेको नगर कृषि शाखाले जनाएको छ।
कृषकहरूका अनुसार मम्फली खेतीले आर्थिक अवस्था सुधार गरेको छ र गाउँमा रोजगारीका अवसर पनि सिर्जना गरेको छ। स्थानीय युवाहरूले यसलाई व्यवसायिक रूपमा विस्तार गर्ने तयारी गरिरहेका छन्।
मम्फली खेतीले कृषिमा नयाँ सम्भावनाको ढोका खोलेको बगर अब “सुनफल बगर” भनेर चिनिन थालेको छ। प्राकृतिक उर्वरता र कृषकहरूको लगनशीलताले यो बगरले अब सुन होइन, “सुनफल”—मम्फली उत्पादन गरेर कृषकको भाग्य चम्काउँदै छ। श्रोत किरणमान बज्राचार्य








प्रतिक्रिया