जीवनशैली

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण



काठमाडौँ, २८ कात्तिक

नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौँ ।” त्यसैगरी, बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापनमात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताउनुभयो । सामग्री ग्रहणपछि हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धारकार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।” उक्त अवसरमा बोर्डले सङ्घलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स चार थान, डिसेन्डर्स पाँच थान, पुली चार थान, स्लिङ्स पाँच थान, आइसस्क्रु र पिकेट्स पाँच थान, बिले डिभाइस चार थान, एङ्कर्स चार थान र स्लीपिङब्याग पाँच थान हस्तान्तरण गरेको थियो । बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६