कपिलवस्तु, कात्तिक २८
बुद्धभूमि नगरपालिकाको आ.व. २०८२÷८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज विभिन्न क्षेत्रका सरोकारवालाको सम्मानजनक उपस्थिति बीच सम्पन्न भएको छ। कार्यक्रम पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष श्री डिलाराम भुसालको अध्यक्षतामा तथा नगर प्रमुख श्री केशव कुमार श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत श्री वासुदेव भट्टराई ज्यू, नगर कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, सञ्चारकर्मी, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पन्न गरेका गतिविधि, सेवा प्रवाह, विकास निर्माणका पहल तथा योजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको थियो। सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास र प्रशासनिक सेवासम्बन्धी विभिन्न सुझाव, समस्या तथा सुधारका अपेक्षाहरू सभामा राखेका थिए।

नगर प्रमुख श्री केशव कुमार श्रेष्ठ ज्यूले सार्वजनिक सुनुवाईलाई उत्तरदायी, पारदर्शी र जनमुखी स्थानीय शासनको महत्वपूर्ण आधारस्तम्भ भन्दै नगरपालिकाले सेवाप्रवाह अझ प्रभावकारी बनाउन सक्दो प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरोकारवाला तथा नागरिकबाट प्राप्त सुझावहरू आगामी कार्ययोजना तथा निर्णय प्रक्रियामा समावेश गरिने बताउनुभयो।
कार्यक्रमले स्थानीय तह र नागरिकबीचको विश्वास अभिवृद्धि गर्दै सेवा वितरणमा जिम्मेवारी, पारदर्शिता र प्रभावकारिताको छलफललाई संस्थागत रूपमा अघि बढाएको सहभागीहरूको धारणा थियो।








प्रतिक्रिया