अर्थ-वाणिज्य

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे



राँझा (बाँके), २९ कात्तिक

बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यतिबेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा बढिरहेको छ । गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ । पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका छन् । बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा पर्यटक यहाँ घुम्न आइरहेका छन् । छोटो समयमै पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । यहाँ आउने आन्तरिक पर्यटक पछिल्लो समय निकुञ्जभित्र जङ्गल सफारी गर्न रुचाउँछन् । बाघ, हात्ती र चितुवालगायतका वन्यजन्तु हेर्ने र प्रकृतिको आनन्द लिने अवसरका कारण यो क्षेत्रको महत्व बढेको अध्यक्ष चौधरीको भनाइ छ । थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा अहिले दैनिक करिब ५०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ केवल परम्परागत घरवास मात्र नभई ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका छन्, जसले पाहुनालाई पूर्वाधारयुक्त सेवा प्रदान गरिरहेका छन् । अध्यक्ष चौधरीका अनुसार, गाभर भ्याली होमस्टेले जीविकोपार्जनभन्दा माथि उठेर नयाँ अवधारणा अघि सारेको छ । उहाँ भन्नुहुन्छ ः “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । गाभर भ्याली होमस्टे आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुवात गर्ने स्थल हो ।” अध्यक्ष चौधरीका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने ठूलो लगानीका होटल पनि थपिएका छन् । २०७० सालमा सुरु भएको गाभर भ्याली सामुदायिक घरवास अहिले नेपालकै नमूना घरवासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ । गाभर भ्याली घरवासमा सुरूका दिनमा रु २०÷३० हजारबाट व्यवसाय सुरू गरिएपनि अहिले रु २० लाख देखि रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाई छ । होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतसमेतमा उल्लेख्य सुधार आएको छ । बाँकेमा सञ्चालित यो होमस्टे अहिले जीविकोपार्जन मात्रै नभई दिगो आयआर्जनको बलियो माध्यम बनेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।

प्रकाशित : ३० कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६