कपिलवस्तु, बाणगङ्गा — कात्तिक २९
बाणगङ्गा नगरपालिका–७ मा संचालित ‘खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत एक घर–एक धारा लक्ष्य कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको छ। दीर्घकालीन, सुरक्षित तथा नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित अगाडि बढाइएको यो आयोजना प्रारम्भ भएपछि स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। योजना अन्र्तगत वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले एक कार्यक्रमका बीच डिप बोरिङ्गको औपचारिक शिलान्यास गर्नु भएका हो ।

बनगाई, मोतिपुर, चप्परगाउँ खानेपानी उपभोक्ता संस्था, बाणपा–७, कपिलवस्तुका अध्यक्ष कृष्ण खनालका अनुसार आयोजना वडा–७ तथा वडा–८ का केही बस्तीमा दीर्घकालीन रूपमा देखिँदै आएको खानेपानी अभाव समाधान गर्ने निर्णायक पहल हो। उनले योजनाको पूर्वाधार निर्माण कार्य द्रुतगतिमा अघि बढिरहेको जानकारी दिँदै स्थानीय तह तथा सम्बन्धित निकायको सहकार्य प्रशंसनीय रहेको उल्लेख गरे।
“वडा–७ र वडा–८ का घरधुरीलाई खानेपानी समस्यामुक्त बनाउने हाम्रो लक्ष्य हो। दिगो, स्वच्छ र सहज खानेपानी सेवा उपलब्ध गराउन संस्था पूर्णतः प्रतिबद्ध छ, ” अध्यक्ष खनालले भने।
खनालका अनुसार आयोजना सुरु भएपछि स्थानीयवासीमा पनि उत्साह बढेको छ र नियमित खानेपानी पहुँचले दैनिक जीवन, स्वास्थ्य र स्वच्छतामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
परियोजनाका मुख्य प्रगति र संरचना ः संस्थाले संघीय सरकार अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना–बुटवलसँग १९ करोड रुपैयाँ बजेट स्वीकृत गराई सम्झौता गरेको हो।सम्झौता तथा कार्ययोजना अनुसार ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, ११० किमी पाइपलाइन विस्तार, २ वटा डिप बोरिङ्ग, सभा हल तथा कार्यालय भवन निर्माण, बाउण्ड्री वाल निर्माण लगायतका पूर्वाधार विकास कार्य समेटिएका छन्। परियोजनाको सम्झौता अवधि ३ वर्ष निर्धारण गरिएको छ। २०८१ साल चैत्र ४ गते बजेट स्वीकृत भई २०८२ साल वैशाख ४ गते टेन्डर आह्वान गरेर कामको औपचारिक शुभारम्भ भइसकेको छ । परियोजनाबाट करिव २ हजार ५ घर धुरी प्रत्यक्ष लाभान्वित हुनेछन ।








प्रतिक्रिया