कपिलवस्तु, मंसिर १
कपिलवस्तुको बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ नयाँ–नयाँ आकर्षणका कारण सर्वत्र चर्चा बटुल्दै अघि बढिरहेको छ।
ऐतिहासिक सिंहदरबार जलेर जीर्ण बनेको बेला मेला स्थलमा सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण कार्य तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। यसले मेलालाई अन्य प्रदर्शनी भन्दा फरक पहिचान दिलाउने अपेक्षा लिइएको छ। संरक्षक टोपनारायण बेल्वासेका अनुसार महोत्सवमा विश्वकै अग्लो कुकुर, विश्वकै होचो कुकुर, जलपरी, फिस टनेल जस्ता दुर्लभ तथा रोचक प्रदर्शनहरू सार्वजनिक गर्ने तयारी पूरा भएको छ।
महोत्सव आयोजक समितिका संयोजक खिमानन्द पौडेल (कोपिल) ले महोत्सवको मूल नारा—
‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ राखिएको जानकारी दिनु भयो । महोत्सवमा प्रवेश शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ। सोही रकममा १०० रुपैयाँ बराबरको ‘गाईछाप सर्फ पाउडर’ निःशुल्क वितरण गरिनेछ। यस्तै, दैनिक लक्की ड्र मार्फत एक जनालाई साइकिल, साथै फ्री कफी र निःशुल्क स्वास्थ्य परीक्षण उपलब्ध गराइनेछ।
आयोजकका अनुसार महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागिता हुने अनुमान गरिएको छ। प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी स्टलहरू रहनेछन्। युवाको आकर्षणलाई मध्यनजर गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फुड फेस्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिनेछ। आयोजकका अनुसार महोत्सवमा स्थानीय व्यवसाय, कृषि उत्पादन, प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा एकीकृत गर्दै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य लिएको छ।








प्रतिक्रिया