कपिलवस्तु, ३ मंसिर
कपिलवस्तु अस्पतालले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई छिटो, सहज र सम्मानजनक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। अस्पतालले उनीहरूका लागि पिंक कलर काउन्टर र विशेष टिकट प्रणाली लागू गर्दै सेवा प्रक्रियामा सहजता बढाएको हो।
अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका सेवाग्राहीले टिकट काट्नेदेखि उपचार प्राप्त गर्ने प्रक्रियासम्म सामान्य लाइनमा बस्नुपर्ने छैन। नवीन व्यवस्थाअनुसार उनीहरूलाई पिंक कलरका टिकट प्रदान गरिनेछ, जसका आधारमा उपचारमा प्राथमिकता दिइने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले वृद्ध तथा फरक क्षमता भएका व्यक्तिहरूलाई छिटोछरितो सेवा दिन विशेष काउन्टरको व्यवस्था गरिएको बताउनुभयो। उहाँका अनुसार, “हामीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विशेष काउन्टर सञ्चालनमा ल्याएका हौं। अब उनीहरूले अनावश्यक प्रतीक्षा गर्नुपर्ने छैन।”
नयाँ व्यवस्थाका कारण उपचारका लागि आउने ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू खुशी भएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले आगामी दिनमा सेवाको गुणस्तर अझ उकास्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।








प्रतिक्रिया