अर्थ-वाणिज्य

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३औँ साधारण सभा सम्पन्न,उत्पादन विविधिकरणमा जोड



कपिलवस्तु, मंसिर ७

बाणगंगा नगरपालिका–८ बोडगाउँस्थित बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन लुम्बिनी प्रदेशका सांसद तथा प्रदेश विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले गर्नुुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद न्यौपानेले बाणगंगामा उत्पादन हुने दूध पूर्व–पश्चिम सबै क्षेत्रमा पुगेको उल्लेख गर्दै यसको संकलन, वितरण र मूल्य श्रृंखलालाई अझै व्यवस्थित बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले प्रदेश सरकार सहकारी क्षेत्रको सुदृढीकरणका लागि प्रतिबद्ध रहेको र दुग्धजन्य परिकार उत्पादन विस्तारमा सहकारीहरूले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।


त्यसैगरी, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरका ६५ दुग्ध सहकारीमध्ये १५ वटा प्रदेश सरकार मातहत र ५० वटा नगरपालिका मातहत सञ्चालन भइरहेको जानकारी गराउँदै सबै सहकारीको नियमित अनुगमन भइरहेको बताउनुभयो। उहाँले “नगरका सहकारीहरूमा अनियमितता देखिएको छैन, पारदर्शिताका आधारमा सहकारीहरू सशक्त बन्दै गएका छन्,” भन्नुभयो।
नगरपालिका पशु शाखाका प्रमुख किशोर तिवारीले चालू आर्थिक वर्षमा १२ हजार मात्रा खोरेत भ्याक्सिन आवश्यक पर्ने भएकाले यसको व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो।
साधारण सभामा सहकारीका अध्यक्ष राधेश्याम न्यौपानेले दूधको विविधिकरणलाई संस्थाको दीर्घकालीन लक्ष्यका रूपमा अघि बढाइएको बताउनुभयो। उहाँले सदस्य किसानलाई वर्षमा दुई पटक पूर्ण अनुदानमा घाँस बीउ वितरण गर्दै आएको, पशु बीमा गर्ने सदस्यलाई सहकारीले प्रोत्साहनस्वरूप आंशिक अनुदान प्रदान गर्ने तथा रोग नियन्त्रणका लागि प्राविधिक सहयोग सहित विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।


कार्यक्रममा कोषाध्यक्ष गिरिराज पौडेलले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक विद्यापति भण्डारीले लेखा प्रतिवेदन र व्यवस्थापक केशव कुवँरले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएको संस्थाले जनाएको छ। साधारण सभा सहकारीका वरिष्ठ उपाध्यक्ष त्रिलोचन न्यौपानेको स्वागत मन्तव्य तथा सचिव सूर्यप्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६