कपिलवस्तु, मंसिर ८
स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको स्वाभिमान विद्युतिय गाडी चार्जिङ स्टेशन औपचारिक रूपमा शुभारम्भ गरिएको छ। हरित ऊर्जा प्रवद्र्धन तथा वातावरण–मैत्री परिवहन प्रवाहलाई प्रोत्साहित गर्ने उद्देश्यसहित स्थापित चार्जिंग स्टेशन बाणगंगा नगर क्षेत्रको पहिलो परिष्कृत पूर्वाधारका रूपमा हेरिएको छ।

एक विशेष समारोहका बीच प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थी, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल र संस्थाका अध्यक्ष घनश्याम घिमिरेले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभयो।
स्टेशनमा जडान गरिएको ८० केभी क्षमताको फास्ट चार्जर मार्फत दैनिक ५० भन्दा बढी विद्युतिय सवारी साधन सहज रूपमा चार्ज गर्न सकिने जानकारी व्यवस्थापक सागर घिमिरेले दिनुभयो। उहाँका अनुसार चार वटा चार्जर रहेको यस पूर्वाधारको निर्माण लागत करिब ७५ लाख रुपैयाँ रहेको छ।
उद्घाटन समारोहमा सहकारी अभियन्ता, संस्थाका पदाधिकारी, सदस्य तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो । सहकारी क्षेत्रको साझेदारीमा पूर्वाधार विकास सम्भव छ भन्ने सकारात्मक सन्देश यस परियोजनाले दिएको आयोजकहरूको भनाइ छ।
यससँगै बाणगंगा नगरपालिका क्षेत्रमा विद्युतीय सवारी प्रयोगलाई थप सहज बनाउने र दिगो यातायात प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया