८ मंसिर काठमाडौं
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन(जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन्। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताए। अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए।
उनले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताए। ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उनले स्पष्ट पारे। यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उनले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गरे।
प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्ष सम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ। बैठकमा एमाले वाग्मती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठुलो जनपरिचालन हुने दाबी गरे। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने तयारी भएको बताए। यसको लागि आवश्यक तयारी सुरु भइसकेको भट्टराईले जानकारी दिए।








प्रतिक्रिया