तुलसीपुर (दाङ), १५ मङ्सिर, (रासस)
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ ।
स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ । सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो ।
त्यस्तै सोही उद्योगले कृषिजन्य वस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्नेसमेत योजना बनाएको उहाँले बताउनुभयो । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुका साथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नका लागि यस्तो कार्य गरिएको उहाँको भनाइ थियो ।
त्यस्तै उहाँले तुलसीपुरमा अग्नि नियन्त्रणका लागि फायर फाइटरको ‘रिफुलिङ’समेत गर्नेगरी तयारी गरेको बताउनुभयो । “हामीले गर्न खोजेको सामाजिक अभियान हो”, उहाँले भन्नुभयो, “यहाँको फोहर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नि नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ ।” करिब रु ३३ लाखको लागतमा उक्त संरचना निर्माण गर्न लागेको उहाँको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोही उद्योग ग्राममा आफै संरचना बनाएर व्यवसाय सञ्चालन गर्न चाहेमा पाँच वर्षको कर छुट गर्नेसमेत बताउनुभयो । उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने व्यवस्था मिलाउने बताउनुभयो ।
साथै उद्योग ग्रामको सुरक्षाका लागि आवाससहित नगर प्रहरीको समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो । ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ एक सय तीन जनाले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । ती घर टहरा बनाएकालाई प्रति घरलाई डेढ कठ्ठा दिएर उद्योग ग्रामका लागि जग्गा छुट्याइएको थियो । हाल १३ बिगाहा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ ।
केही समयअघि उद्योगग्रामस्थलमा पर्खालसमेत लगाइएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले रु ५० लाख बजेटसमेत छुट्याइएको छ । औद्योगिक ग्राम निर्माण भएमा व्यवसायीलाई निकै सहज हुने ग्रिल व्यवसायी ओमबहादुर वलीले बताउनुभयो । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेकोसमेत उहाँको भनाइ छ । साथै छापाखाना व्यवसायी शालिकराम बस्नेतले पनि उद्योगग्राम निर्माण भएमा आफूहरूलाई भाडा पनि सस्तो हुने र सहज पनि हुने बताउनुभयो ।








प्रतिक्रिया