मंसिर १६, बाणगंगा
आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुने १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ का करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने महोत्सवका अधिकांश संरचनागत कामहरू अन्तिम चरणमा पुगेका छन्।

सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणका अनुसार तयारी तीव्र गतिमा भइरहेको छ र मंसिर १७ गतेभित्र सम्पूर्ण काम सकिने छ। महोत्सवको इन्सुरेन्स गरिसकिएको र सुरक्षा व्यवस्था विशेष कडाइका साथ लागू गरिने उनले जानकारी दिनु भयो ।
यस वर्षको महोत्सवमा करिब ३०० स्टल रहने छन्। महिला उद्यमी, स्थानीय उद्योगी तथा घरेलु उत्पादकलाई सहुलियत दरमा स्टल उपलब्ध गराइएको स्टल संयोजक मिन थापाले बताए। केही स्टल अझै खाली रहेको उल्लेख गर्दै उनले इच्छुक उद्योगी–व्यवसायीलाई छिटो सम्पर्क गर्न आग्रह गर्नु भयो ।
यस्तै, स्नो सिटी (हिउँमा खेल्ने अनुभव), जलपरी, सुनामी पिङलगायतका प्रमुख आकर्षण निर्माण कार्य तीव्र गतिमा भइरहेको सोसाइटीका सचिव युवराज पन्थीले जानकारी दिए। विविध मनोरञ्जनात्मक दृश्य–अनुभूति प्रदान गर्ने यस्ता संरचनाले दर्शकको आकर्षण थप बढाउने विश्वास आयोजकले लिएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले कपिलवस्तुको ऐतिहासिक पहिचान, पर्यटन प्रवद्र्धन र स्थानीय सहभागीता विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले जिल्लावासी तथा छिमेकी जिल्लाका नागरिकलाई महोत्सव अवलोकनका लागि निम्तो गर्नु भयो ।
महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न तथा व्यापारिक स्टल, बालउद्यान र विविध मनोरञ्जनात्मक गतिविधि रहनेछन्। यी आकर्षणका कारण बाणगंगासहित आसपासका जिल्लाबाट ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएको छ।

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। परम्परागत रूपमा हुँदै आएका यस्ता मेला–महोत्सवले कपिलवस्तुको समग्र विकास र पहिचान मजबुत बनाउन निरन्तर भूमिका खेल्दै आएका छन्।








प्रतिक्रिया