कपिलवस्तु, १८ मंसिर
“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन” भन्ने नारासहित कपिलवस्तुमा आज ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमसहित मनाइयो। दिवसको अवसरमा अपाङ्गता सचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
र्यालीमा स्थानीय निकायका प्रतिनिधि, सामाजिक संघ–संस्था, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी र अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरू तौलिहवाको मुख्य बजार परिक्रमा गर्दै अपाङ्ग अधिकार, पहुँचयोग्यता, समान अवसर जस्ता सन्देशमा आधारित प्लेकार्डसहित पदयात्रा गरेका थिए।
पदयात्रापछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवं कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक पहिचानमा समान पहुँच सुनिश्चित गर्न राज्य र समाज दुवै जिम्मेवार हुनेमा जोड दिए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय तहमा सञ्चालन भएका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नीति–नियमको कार्यान्वयन, आवश्यक तैयारी तथा जनस्तरमा निरन्तर सचेतना आवश्यक रहेको बताए। उनले समावेशी समाज नै दिगो सामाजिक प्रगतिको आधार हुने उल्लेख गरे।
कार्यक्रममा अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा योगदान पुर्याउँदै आएका संस्था तथा व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
आयोजकका अनुसार अपाङ्गता प्रतिको सकारात्मक दृष्टिकोण निर्माण, अधिकार सुनिश्चितता र समावेशी समाज निर्माणका उद्देश्यसहित कपिलवस्तुमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस उत्साहपूर्वक मनाइयो।








प्रतिक्रिया